सीमाविद्को सीमाहीन खुसी :
चीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘यथेष्ठ प्रमाण जुटेका छन्, तर राष्ट्रिय अस्मिताको यति संवेदनशील विषयमा हामीले राजनीतिक दाउपेचका लागि उत्तेजना फैलाउनुहुँदैन, उत्ताउला कुरा गरेर भारतलाई वार्ताबाट भाग्न सजिलो बनाउने होइन, जिम्मेवार बनेर वार्तामा बसाल्नुपर्छ र तथ्यका आधारमा भूगोल फिर्ता ल्याउनुपर्छ’
भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम...







