२००४ सालको महामारीः मलामी जाँदा पनि मरिन्छ कि भन्ने डर लाग्थ्यो !
मेरो जन्म १९८२ सालमा रुपन्देहीको हालको गैडहवा गाउँपालिका–३ मा भएको हो। मेरो गाउँबाट बुटवल ६० किलोमिटर र भैरहवा ४० किलोमिटर टाढा छ। उति वेला साधन भनेको गोरुगाडा मात्र थियो। एउटा गाउँमा के भएको छ, अर्को गाउँका मानिसले थाहा पाउन गाह्रो थियो। बुटवल र भैरहवाबारे नै मैले धेरै पछाडि मात्र थाहा पाएको हुँ।
मेरो भाग्य नै भन्नुपर्छ, नेपालका विभिन्न शासन व्यवस्था र सामाजिक परिवर्तन देख्ने र भोग्ने मौका पाएँ। राणा शासन भोगें, २००७ सालको प्रजातन्त्र, पञ्चायती व्यवस्था, २०४६ सालको राजनीतिक परिवर्तन हेर्दै अहिलेको गणतान्त्रिक व्यवस्थाको साक्षी बनिरहेको छु।
अहिले महामारी आयो भन्छन्, मानिसहरु। सबैतिर त्रास छाएको छ। बाहिर पढ्न गएका मेरा नातिहरू पनि घर फर्केका छन्। मैले यस्ता महामारी र त्रासका धेरै अनुभव भोगेको छु। महामारीकै कारण मैले परिवारका सदस्यहरू गुमाएको छु।
१९९० सालतिर पनि हाम्रो गाउँमा महामार...








