आफ्नै संस्कृतिमा रमाएको पस गाउँ पुग्दा…
काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै दुई सय किलोमिटर पर तालहरुको सुन्दर सहर पोखरास्थित अमरसिंह चोक पुगिन्छ। त्यहाँबाट करिब १० मिनेटको ट्याक्सी यात्रापछि पोखरा उपमहानगरपालिका वडा नम्बर १३ काहुँ खोला पुगिन्छ।
पोखरा काहुँ खोलादेखि कास्कीको २१ किलोमिटर उत्तर पूर्वमा अन्नपूर्ण र लमजुङ हिमालको काखमा सुन्दर एवं रमणीय गाउँ ताङतिङ लुकेर रहेको छ। यो गाउँ मादी गाउँपालिका वडा नम्बर २ मा पर्दछ।
आँखा, मन, मुटु अगाडि चाँदीझैँ टल्किरहेको मायालुको प्रतिक्षामा मुस्कुराइरहेको जस्तो अन्नपूर्ण चौँथो, अन्नपूर्ण दोस्रो, लमजुङ हिमाल गाउँ अगाडि एक टकले जुगौँदेखि उभिरहेका छन्। गाउँ पारी सिक्लेस, पार्चे गाउँहरु एक टक लगाएर कैलाशको काखमा डुबुल्की मारिरहेका छन्।
ताङतिङ गाउँको आसपासमा घट्टे खोला, तेउरी खोलाको छमछम अनि अन्नपूर्ण, लमजुङ हिमालबाट निस्केको हिउँ नदी (मादी नदी) सुसाइरहेका छन्। प्रकृतिको उपहार मृग चराचु...








