जय भुँडी
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।
परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हु...