Thursday, October 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भावना


कोभिड –१९ ले ल्याएको अनिश्चितकालीन बन्दाबन्दी र भौतिक दूरी कायम गर्नुपर्ने सन्दर्भमा समाज र यसका हरेक अवयवहरू अहिले अन्यौलताको क्रसरोडमा उभिएका छन् ।
यसै सन्दर्भमा उच्च शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्रिभुवन विश्वविद्यालयमा अनलाइन शिक्षा र शिक्षणको सूचनासँगै केही दिन अघिदेखि यसका पक्ष र विपक्षमा बहस, टीकाटिप्पणी र चर्चा परिचर्चाहरू भएका देखिन्छन् । कसैले अनलाइन शिक्षण प्रविधिलाई महामारीसँगै आएको बाध्यताको अवसर भनेका छन् भने, केहीले क्षणिक रहर मात्रै हो भनेका छन् । यसमा ब्यापक बहस गरी बुद्धिमत्तापूर्वक अगाडि बढनु पर्ने देखिन्छ ।
शिक्षा भन्नाले शिक्षकले भन्ने, विद्यार्थीले सुन्ने र घोकेर परीक्षामा लेख्ने विषय पक्कै होइन । यसको ठीक विपरीत बरू शिक्षा भनेको सिकारूको रूचि तथा आवश्यकता अनुसारको विषय तथा क्षेत्रमा विज्ञता हासिल गरी व्यक्तिको समष्टिगत व्यक्तित्व विकास गर्ने हो । यस सन्दर्भमा शिक्षकको काम पनि विद्यार्थीहरूका सिकाइ प्रक्रियाहरूमा सहजीकरण गरिदिने मात्र हो । सिकाइका हजारौं तरिकाहरूमध्ये कक्षाकोठाको सिकाइ पनि एक पुरातन तरिका मात्र हो ।
झन् विश्वविद्यालयका सामयिक शिक्षा त शिक्षकमुखीभन्दा पुस्तकालय तथा स्वाध्ययन, खोजविधि, परियोजना कार्य, अनसुन्धानमुखी विधिहरूमा आधारित हुन्छन् । उच्च शिक्षा शिक्षक निर्देशितभन्दा स्वउत्प्रेरित, स्वनिर्देशित तथा स्वायत्त हुनु पर्दछ । सिर्जनात्मक तथा नवीनतम सोचको विकास गर्ने उच्च शिक्षामा शिक्षक निर्देशित प्रत्यक्ष सिकाइ नै सर्वाेपरी हो भन्ने भ्रमबाट हामी मुक्त हुनु जरूरी मात्र होइन अब त ढिला भैसकेको पनि छ ।
अनलाइन शिक्षण र प्रत्यक्ष शिक्षणका आआफनै फाइदा र बेफाइदाहरू छन् । अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रयोग गरिँदै आए पनि नेपालमा विरलै देख्न पाइएको अनलाइन शिक्षण कोभिड –१९ को सङ्कटका बेला बाध्याताले निम्त्याएको अवसरको रूपमा लिइएको छ । यसबेला विश्व प्रविधिमैत्रि शिक्षामार्फत अगाडी बढिरहेको तर झन सक्रिय हुनुपर्ने हाम्रा विश्वविद्यालय, प्राध्यापक तथा विद्यार्थीहरु बिदा मनाईरहेको अवस्थामा वैकल्पिक रूपमै भएपनि सक्रिय पार्न र चालु शैक्षिक सत्रलाई सहज बनाउन त्रिविले यो विधि अघि सारेको देखिन्छ ।
प्रत्यक्ष शिक्षणमा अभ्यस्त भइराखेको पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईदेखि मधेश र गाउँघरसम्म फैलिएको भीमकाय त्रिविलाई तयारीको मौका पनि नपाई एक्कासी अनलाइन शिक्षणमा जानुपर्दा प्रशस्त मात्रामा चुनौतिको सामना गर्नुपर्ने देखिनु स्वभाविक नै हो । तर पनि ती चुनौतिहरूका व्यवस्थापन र सामना गर्दै जानुबाहेक हामीसँग अरू विकल्प पनि त छैनन् ।
यसप्रकारको परिवर्तित अवस्थामा नयाँ चुनौतीबाट पन्छिन हजारौं बाहना खोज्नुभन्दा सामना गर्ने एउटा मात्र भए पनि उपाय खोज्नु बुद्धिमानी देखिन्छ । साथै एक्काइसौं शताब्दीमा शिक्षाको लागि विभिन्न किसिमका साक्षरतामध्ये सूचना तथा प्रविधि (आइटी) पनि एक महत्वपूर्ण साक्षरता भएकाले अनलाइन शिक्षाले यसका लागि महत्वपूर्ण भूमिका खेल्ने नै छ ।
एक्काइसौं शताब्दीको साक्षरता मानिएको संचार तथा प्रविधिमा विश्वविद्यालयका विद्यार्थीहरूलाई निरक्षर राखिनु हुँदैन भनी उच्च शिक्षाका सबै सङ्कायहरूमा आइटीलाई कहीँ न कहीँ समेटिएको छ । बरू यसका लागि आवश्यक सचेतना, अभिमुखीकरण, पूर्वाधारको विकास, आवश्यक व्यवस्थापन तथा सहयोगको लागि सबैले आआफनो ठाउँबाट ठोस रूपमा पहल गर्नुपर्दछ र विशेषगरी त्रिविले विभिन्न पक्षहरूसँग संयोजन गरी यसमा सक्रिय भूमिका निर्वाह गर्नु पर्दछ ।
हरेक महासङ्कटले समाज र यसका अवयवहरूमा क्रान्तिकारी परिवर्तन ल्याउँछ । हामीले पनि यसबेला शिक्षामा आउने विश्वब्यापी परिवर्तनलाई नकार्नुभन्दा पछ्याउनु नै उपयुक्त हुन्छ । उसै पनि विश्वविद्यालय शिक्षा साक्षरता तथा सर्टिफिकेटका लागि नभई विज्ञता, विशेषज्ञता र समयक्रममा आउने नयाँनयाँ चुनौतीसँग लडनसक्ने क्षमता विकासका लागि हो भन्ने पुष्टि गर्न सक्नु पर्दछ । भगौलिक तथा भौतिक दुरी, समय र ब्यस्तता, कोभिड–१९ जस्ता महामारी तथा शिक्षाको विश्वब्यापीकरणको लागि अवको उच्च शिक्षा अनलाईन तथा प्रविधीमैत्री निर्विकल्प नै हो ।
त्रिविका पाठ्यक्रम, शिक्षक, शिक्षण विधि, आम विद्यार्थी तथा मूल्याङ्कन पद्दतिहरू नै पनि अहिलेका अवस्थामा समेत अनलाइन शिक्षणभन्दा प्रत्यक्ष शिक्षणमुखी छन् । अझ ती सहज अवस्थामा यसैमा अभ्यस्त छन् । तर कोभिड –१९ ले गरेको असहज, बन्दाबन्दी तथा अनिश्चितकालीन भौतिकदूरी कायम गर्नुपर्ने अवस्थाले हामीले हाम्रा शैक्षिक लगायत अन्य गतिविधि र क्रियाकलापहरू पनि परिमार्जन गर्नुपर्ने देखिन्छ । तसर्थ त्रिविले पनि आप्mना पाठयक्रम, शिक्षण तथा मूल्याङ्कन पद्दतिमा अनलाइन शिक्षणका लागि बाधक देखिएका पक्षहरूलाई आवश्यक परिमार्जन गरी व्यावहारिक, सहज र प्रविधिमैत्री बनाइनु पर्दछ । परिक्षालाई पनि तीनघण्टे पेपर पेन्सिल आधारित भन्दा आन्तरिक मुल्याकन, परियोजना कार्य, बुक तथा च्याप्टर रिभ्यु, केस स्टडी, अनसुन्धानमुलक कार्य, अनलाईन प्रस्तुती तथा प्रिजेन्टेसन, अडियो तथा भिडियो रेकर्डिङ्ग मार्फत प्रस्तुती गरेर वा गराएर पनि मुल्याकन गर्न सकिन्छ ।
यसका साथै त्रिविले शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक पर्ने पाठयक्रम, सेल्फ लर्निङ् मेटेरियल्स, हेन्डस्आउटस्, कोर्स अनुसारका आवश्यक अनलाइन पुस्तकहरू, पाठ्यपुस्तक, कक्षा शिक्षण अडियो तथा भिजुअल रेकर्ड अनलाइन तथा अफआइन प्रयोग गर्न सक्नेगरी विधा तथा विषय अनुसार वेब तथा मोडल तयार पारी सम्बन्धित प्राध्यापक तथा विद्यार्थीहरूको सहजै पहूँचमा हुनेगरी राख्ने व्यवस्था गर्नु पर्दछ । तत्कालिनरुपमा त्रिविले केन्द्रीय तथा नमुना क्याम्पसका अनलाइन कक्षाहरूलाई रेकर्ड गरी अनलाइन र अफलाइनका रुपमा सम्बन्धित क्याम्पस तथा विद्यार्थीहरूको पहूँचमा पु¥याउन सक्छ ।
देशैभरि फैलिएका त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको भौतिक पूर्वाधारको अभाव र ती क्याम्पसहरूमा अध्यापन गर्ने प्राध्यापक तथा दूर दराजमा रहेका लाखौं विद्यार्थीको गाउँघरको भौगोलिक अवस्था, सूचना तथा प्रविधि र यसका माध्यमकै अभाव हुन् । यस पक्षमा त्रिविले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि त्रिविले नेपाल सरकार तथा दूर सञ्चार प्रदायक संस्थाहरू नेपाल टेलिकम र एन्सेलसँग शीघ्र समन्वय र सहकार्य गरी इन्टरनेट सुविधालाई सबै विद्यार्थी तथा शिक्षकहरूको भौतिक तथा आर्थिक पहूँच र क्षमतामा ल्याइनु पर्दछ । सूचना तथा प्रविधिको अध्यापन भइरहेका तथा सदरमुकाम तिरका क्याम्पसहरू र विद्यार्थीहरू केही हदसम्म अनलाइन कक्षा सञ्चालन गर्न र यसबाट लाभान्वित हुन सक्षम छन् तर यसको ठीक विपरीत दूर दराजमा रहेका त्रिविका कैँयौँ विद्यार्थीहरूका लागि गाउँपालिका तथा नगरपालिका मार्फत् सञ्चारका माध्यमको व्यवस्था वा सञ्चार तथा प्रविधिमा पहूँच र क्षमता पु¥याउन त्रिविले पहल गर्नुपर्ने देखिन्छ । आर्थिकरुपमा विपन्न विद्यार्थीहरुलाई वर्षैपिच्छे दिईने छात्रबृतीभन्दा संचार तथा प्रविधिका साधन र निशुल्क ईन्टरनेट दिन सकिन्छ । सिकाईका लागि सबैलाई समान अवसर दिनु राज्य तथा त्रिविको पहिलो र निशर्त दायित्व हो ।
यसमा आवश्यक परे आइटी साक्षरताका लागि त्रिविले स्वयम् तथा स्थानीय निकायहरूको सहयोगमा शिक्षक तथा विद्यार्थीहरूका लागि एक वा दुई हप्ते आधारभूत आइटी साक्षरता कक्षा सञ्चालन गर्न सक्दछ । साथै त्रिविले स्थानिय निकाय मार्फत सबै क्याम्पसहरु, आम प्राध्यापक तथा विद्यार्थीहरुमा प्रविधिको पुर्वाधारमा सहज पहुच, उपयोगमा क्षमता, आर्थिकरुपमा सस्तो, प्रभावकारी ईन्टरनेट र ई–मटेरियल्समा पर्याप्तताको लागि पहल, संयोजन र लगानी गर्नुपर्दछ ।
बन्दाबन्दीका कारणले धेरै कार्यक्रमहरू बन्द गर्नुपर्ने अवस्थामा विश्वविद्यालय अनुदान आयोगले पनि विश्व विद्यालयलाई प्रविधिमैत्री बनाउन लगानी गरी सहयोग गर्न सक्दछ । यसका अतिरिक्त ग्रामीण क्षेत्रमा सञ्चालित विद्यार्थीहरूको चाप कम भएका क्याम्पसहरूले संयुक्त रूपमा अनलाइन कक्षा सञ्चालन गर्न सक्छन् । यसका अतिरिक्त, अनलाइन कक्षाका लागि भौगोलिक तथा भौतिक दूरीले अर्थ नराख्ने हुनाले सुगमका सक्षम क्याम्पसहरूले अन्य अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने क्याम्पसका विद्यार्थीहरूलाई आफ्ना अनलाइन कक्षामा समावेश गरी सहयोग गर्न सक्छन् ।
विश्वविद्यालय शिक्षालाई प्रविधिमा आधारित सिकाइसँग जोडने हो भने विश्वविद्यालयमा विशेषगरी दुई खाले विषयवस्तुको अध्ययन अध्यापन हुन्छ ः अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विषयवस्तु । अङ्गे्रजी, गणित, विज्ञान, अन्तर्राष्ट्रिय राजनीतिशास्त्र जस्ता विषयहरू विश्वभरी अध्ययन अध्यापन हुन्छन् र यिनीहरूका लागि आवश्यक अध्ययन सामग्री श्रव्यदृश्य, किताब तथा भर्चुअल कक्षाको रूपमा अनलाईन मार्फत प्रशस्त मात्रामा पाइन्छन् । यसका लागि क्याम्पस तथा त्रिविकै मुख ताक्नु पर्दैन । आवश्यकता अनुसार विद्यार्थीले उपयोग गर्न सक्छन् ।
अनलाइनमा कमैमात्र सामग्री पाइने नेपाली भाषा र साहित्य, नेपालको राजनीतिशास्त्र, इतिहास जस्ता विषयमा त्रिविले आप्mनै विभागहरूमार्फत तथा नेपाल प्रज्ञा प्रतिष्ठान, मदन पुस्तकालय, मार्टिन चौतारी जस्ता सहयोगी संघसंस्थाहरूसँग मिलेर थुप्रै अध्ययन सामग्रीहरू उत्पादन र डिजिटलाइज्ड गर्न सक्छ । अब यस्ता कार्यहरू गर्न कुनै साइत पर्खिरहनु पर्दैन ।
अनलाइन शिक्षणका साथै आफूले भ्याएको समयमा विद्यार्थीहरूले पनि एक आपसमा अनलाइन समूह, फेसबुकमा पनि आपसी समूह (फेसबुक ग्रुप) बनाएर छलफल विधिद्वारा समूहमा गज्जबले अध्ययन गर्न सक्छन् । डिजिटल साक्षरताको साथै देशभित्र र बाहिरका विषयवस्तु, अनलाइन कक्षा, भर्चुअल लर्निङ् तथा युट्युब तथा सोसल मिडिया मार्फत् आफना प्राध्यापकहरूसँग पनि च्याट समूहमा रही विषयवस्तुका बारेमा छलफल गर्न सक्छन् । समय, भगौलिक तथा राष्ट्रियताका विकट सिमाना नाघेर गरिने यस्ता अन्तरक्रिया सिकाईका लागि महत्वपुर्ण हुन्छन ।
उसो त त्रिविले प्रत्यक्ष शिक्षणपद्दति भनेपनि शतप्रतिशत विद्यार्थीहरू समानरूपमा पाठ्यक्रम, पाठ्यपुस्तक, कक्षाकोठा शिक्षण, गुणस्तरिय शिक्षा तथा मूल्याङ्कनमा कहाँ नै समान अवसर पाउँछन र ? पुराना र प्राज्ञिकरुपमा भद्दा कक्षाकोठा, शिक्षकहरूका एकहोरा, निरस र पट्यारलाग्दा प्रवचन, थकित विद्यार्थीको निरुद्देश्य श्रवण, आधाउधि विद्यार्थीको कक्षाकोठामा अनुपस्थिति, वर्षभरिको पढाइको तीनघण्टे बहुलठ्ठीपूर्ण परीक्षणभन्दा त अनलाइन शिक्षा र सिकाइ विद्यार्थीहरूको अनुकूलतामा प्रयोग गर्न सकिन्छ ।
जागिर नपाउञ्जेल क्याम्पसमा हल्लिरहने नेपालको उच्च शिक्षा बरू अलिकति प्रयास गर्ने हो भने अनलाइन शिक्षणले अध्ययन गर्न चाहने जमातलाई अवसर जुराइदिन सक्छ । कक्षाकोठाको औपचारिकताभन्दा बाहिर पनि वृहत्तर सिकाइका सम्भावना र परिधिहरू हुन्छन् । यसको लागि आवश्यक अठोट, परिवर्तनको चाहना, विद्यार्थी तथा प्राध्यापकहरुमा सशक्तीकरणको प्रतिबद्धता, प्रविधिमैत्री सिकाई र शिक्षणको रहर पुर्व शर्त हो । विस्तारै अभ्यस्त हुँदै गइन्छ । परिष्कृत हँुदै गइन्छ र विस्तारै यही प्रभावकारी पनि लाग्दै जान्छ । समस्याहरू त कहाँ छैनन् र ? फेरि सुदुर गाउघरतिरका क्याम्पसहरुमा जहाँ कमै विद्यार्थीहरु छन र बाहिरी मानिसहरुको खासै चहलपहल हुदैन, त्यहाँ स्थानिय निकायहरुको समन्वयमा सचेततापुर्वक प्रत्यक्ष कक्षा चलाउन अनलाइन शिक्षाले रोक्दैन । बरु यहां अनलाईन र प्रत्यक्ष शिक्षणको नौलो अभ्यासले प्रभावकारी शिक्षण गर्न सकिन्छ ।
सत्य यो पनि हो कि शिक्षा र शिक्षणमा आमुल परिवर्तन गर्न चाहने त्रिविले पनि शिक्षक तथा पूर्वाधारमा लगानी, अभिमुखीकरण तथा तालिमका कार्यक्रमहरूको राष्ट्रव्यापी संयोजन र संचालन, विद्यार्थीहरूको परिवर्तित परिस्थितिमा आवश्यक सिकाइको वातावरण, सञ्चार र प्रविधिमा व्यापक पहूँच र क्षमतामा पनि आमुल परिवर्तनको लागि पहल गर्नुपर्दछ । हरेक थालनी शुरूआती दिनमा पागलपन लाग्छन्, विस्तारै संस्कारका रूपमा विकास हुन्छन् । कोभिड –१९ महामारिपछि सहज हुँदा पनि हामी अफलाइन र अनलाइनको हाइब्रिड शिक्षण पद्दतिमा रमाउन सक्छौ ।
लेखक: नरेन्द्रराज पनेरू (त्री वि उपप्राध्यापक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *