मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण भोलिबाट सुरु हुने मुस्लिम समुदायको महान पर्व रमजानमा घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा शुक्रबार अध्यक्ष अन्सारीले महामारी कुनै जात र धर्मलाई लक्षित गरी नआउने भन्दै लकडाउनको पूर्णरुपमा पालना गर्ने सबै नागरिकको दायित्व भएको बताए।
मुस्लिम समुदायको जमातीमा वीरगञ्जबाट संक्रमण सुरु भएको र उदयपुरमा पनि ठुलो संख्यामा संक्रमण देखिएको प्रति मुस्लिम आयोग गम्भीर भएको उनले बताए।
यस्तै उनले हिजो र आज काठमाडौ उपत्यकाका विभिन्न मस्जिदमा रहेका सबैको स्वाब परीक्षण गराइसकेको जानकारी दिए।
साथै स्वास्थ्य मनत्रालयको सहयोगप्रति उनले आभार व्यक्त गरे। अझ पनि मस्जिदहरुमा कोही परीक्षण गर्न छुटेका छन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा वा स्थानीय सरकारसमक्ष अविलम्ब गएर सरकारलाई सहयोग गर्न उनले आग्रह गरे। यस्तै जुन किसिमले जमातीमा बढी संख्यामा कोरोना संक्रमण देखा परिरहेको छ,यसप्रति मुस्लिम समुदाय गम्भीर हुनुपर्ने उनले बताए।