Tuesday, November 24"सञ्चार समाज को ऐना हो ।"
Shadow

उच्चस्तरीय समितिकाे निष्कर्ष- ‘काेराेना भाइरसकाे संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी’

काठमाडौं। कोभिड-१९ रोकथाम, नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिले लकडाउनले मुलुकलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण काम गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले अहिलेसम्मको अवस्था समीक्षा गर्दै संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकालेको हो।

“आजको बैठकले अहिलेसम्मको सबै विषयमाथि समीक्षा र छलफल गर्‍यो”, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, “११ चैतदेखि गरिएको लकडाउन प्रभावकारी रहेको भन्ने निष्कर्ष निकाल्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने छलफल भएको छ।”

उनका अनुसार उच्चस्तरीय समितिको बैठकले १५ वैशाखपछिको लकडाउनको स्वरूप कस्ताे बनाउने भन्ने विषयमा कार्यदल बनाइएको छ।

सरकारका मुख्य सचिवको संयोजकत्वमा बनाएको कार्यदलले आवश्यक छलफल अघि बढाइसकेको भन्दै उक्त कार्यदलले दिने प्रतिवेदनकै आधारमा अबको लकडाउनको ‘मोडालिटी’ तय हुने उनले जानकारी दिए।

“बैठकमा सदस्यहरूले विभिन्न स्वरूपका बारेमा आफ्नो धारणा राखेका छन्”, उनले भने, “कार्यदलले विभिन्न क्षेत्रको अवस्था, छिमेकी देशहरूमा कोरानाको संक्रमणलगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ।”

उक्त कार्यदलले दिने निष्कर्षपछि मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन समितिलाई निर्देशन दिएपछि आज बैठक बसेको हो।

कोभिड-१९ को संक्रमण र रोकथामका लागि सरकारले ११ चैतदेखि मुलुकमा लकडाउन गरेको हो। पछिल्लो समय थपिएको लकडाउनको समय १५ वैशाखमा सकिँदैछ। त्यसैले अब लकडाउनलाई निरन्तरता दिने वा कस्तो हुने भन्ने निर्णय सरकारले भोलि, १४ वैशाख बेलुकासम्म गरिसक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *