Tuesday, November 24"सञ्चार समाज को ऐना हो ।"
Shadow

ताकाशी मियाहाराः जसको हृदयमा नेपाल थियो

जीवनकालमै नेपालको गलत राजनीतिक संस्कार परिवर्तन गर्ने ताकाशी मियाहाराको प्रयास अधुरै रह्यो तर उनले सबैलाई नयाँ नेपालको भविष्य निर्माणमा उत्प्रेरित गरिरहे ।

भविष्यका लागि पूर्वाधार विकासको खाका देखाउँदै नेपालको नक्शा अगाडि उभिएका ताकाशी मियाहारा । उनको संस्मरण समेटिएको पुस्तक जापानी भाषामा प्रकाशित भएको छ र यो नेपाली र अंग्रेजी भाषामा पनि अनुवाद भइरहेको छ ।  फोटोः कर्म गुरुङ

जापानी मूलका नेपाली ताकाशी मियाहाराको गत २४ नोभेम्बरमा ८५ वर्षको उमेरमा निधन भयो । पहिलो पटक सन् १९६२ मा नेपाल आएका मियाहाराले नेपालमा प्रशस्तै संभावना देखे । होटल, ट्रेकिङलगायतका क्षेत्रहरूमा लगानी गरे । नेपाली महिलासँग विवाह गरे, नेपाली नागरिक बने।

नेपालका राजनीतिक नेतृत्वले देश बर्बाद गरिरहेको लागेपछि मियाहाराले सन् २००८ मा नेपाल राष्ट्रिय विकास पार्टी स्थापना गर्दै चुनाव पनि लडे ।

चुनावमा पराजय भोगे तर कहिल्यै आश मारेनन् । उनीसँग सधैं नयाँ–नयाँ योजना हुन्थे । 

मियाहाराको कार्यकक्षमा नेपालको ठूलो नक्शा राखिएको थियो । त्यस नक्शा मार्फत देशको पूर्वाधार विकास गर्ने खाका प्रस्तुत गरिएको छ । पूर्व–पश्चिम इलेक्ट्रिक रेल्वे लाइनलाई सुरुङ छेडेर बनाइएको उत्तर–दक्षिण सडकमार्गसँग जोडिएको छ ।

यसैगरी पहाडका थाप्लामा रहेका पर्यटकीय गन्तव्यहरूलाई केबुलकारले जोडिएको छ । उनी काठमाडौं उपत्यकामा रहेको दबाब कम गर्न नेपालको राजधानी चितवन स्थानान्तरण गर्न चाहन्थे ।

उनीसँग जलविद्युत्, पर्यटनको विकास र पानी आपूर्ति गर्न राम्रा गुरुयोजना थिए । उनको भनाइमा, पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने यी योजनाहरू नेपाल राष्ट्रिय विकास पार्टीको घोषणापत्रमा उल्लेख छ ।

हँसिला मियाहाराले आफ्नो जीवनकालमा नेपालका ७७ वटै जिल्लाको पदयात्रा गरेका थिए । धेरै नेपालीले भन्दा राम्रोसँग उनले नेपाल चिने ।

नेपालका चुनौती पर्गेल्न नसकिने खालका थिएनन् भन्ने महसूस गरे । उनलाई बूढा\पुराना राजनीतिज्ञहरूले युवापुस्तालाई बाटो छाडिदिनुपर्छ भन्ने लाग्दथ्यो । आफ्नो राजनीतिक दल मार्फत युवा पुस्ताका राजनीतिज्ञहरूलाई सल्लाह दिने कोसिस निरन्तर गरिरहे ।

मियाहाराको कार्यकक्षमा नेपालको ठूलो नक्शा राखिएको थियो । त्यस नक्शा मार्फत देशको पूर्वाधार विकास गर्ने खाका प्रस्तुत गरिएको छ । पूर्व–पश्चिम इलेक्ट्रिक रेल्वे लाइनलाई सुरुङ छेडेर बनाइएको उत्तर–दक्षिण सडकमार्गसँग जोडिएको छ ।

मियाहाराले ‘ट्रान्स हिमालयन टुर्स’ स्थापना गरे । त्यस्तै सन् १९७५ मा ३,८८० मिटर उँचाइमा सोलुखुम्बुको स्याङबोचेमा होटल ‘एभरेस्ट भ्यू’ निर्माण गरे । होटल बनाउन र पछिसम्म पनि काम लाग्छ भनेर स्याङबोचेमा एउटा सानो विमानस्थल नै बनाए ।

ललितपुरको हिमालय होटल उनैले स्थापना गरेका हुन् । उनले सन् १९७० कै दशकमा १००० भन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याइरहेका थिए । जीवनको उत्तरार्धमा उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ कास्की, सराङकोटस्थित अन्नपूर्ण भ्यू होटलमा काम गरिरहेका थिए ।

मियाहारालाई सधैं पर्यटन नै नेपालको विकासको ‘चाबी’ हो भन्ने लाग्दथ्यो । उनले एकपटक भनेका थिए “पर्यटनले राष्ट्रिय आम्दानी बढाउने मात्र होइन, नेपाललाई आत्मनिर्भर बन्न पनि सहयोग पुर्‍याउँछ । अर्थात्, नेपालका प्राकृतिक स्रोतहरू जस्तै नदी र वनजङ्गल उपयोग गर्नु र तिनलाई पर्यटकीय उद्देश्य पूरा गर्न जलविद्युत् उत्पादन र यातायातका माध्यमबाट तिनको संभावना दोहोर्‍याउनु हो ।”

मियाहाराले ठूला–ठूला सपना देखे । उनले उदासीन नेपाली अधिकारीहरूलाई पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, ऊर्जा र प्रकृति संरक्षणका बारेमा प्रोत्साहित गरिरहे । उनले प्रशस्तै बेथितिहरू भेटे तर उनी आफू भने कहिल्यै निरुत्साहित भएनन् ।

मियाहाराले सन् २०१५ मा नेपाली टाइम्ससँगको अन्तर्वार्तामा “नागरिकलाई केले गर्दा राजनीतिक सफलता प्राप्त हुन नसकेको हो भन्ने थाहा हुनुपर्छ; कर्मचारीतन्त्रले निर्णय गर्दैन र जिम्मेवारी पन्छाइरहन्छ; त्यहाँ लोभ छ र समाजमा नैतिकता खस्कँदै गएको छ” भनेका थिए ।

मियाहाराको शवलाई बुधबार स्याङबोचेमा अत्येष्टि गरिनेछ । “मेरा बुबा सगरमाथा नजिकै अत्येष्टि गरियोस् भन्ने चाहनुहुन्थ्यो । उहाँको हृदय बस्ने ठाउँ हिमाल नै हो”, छोरी सोनिया मियाहाराले भनिन् ।

नेपालको राजनीतिक संस्कृति परिवर्तन गर्न ताकाशी मियाहाराको प्रयास अधुरो रह्यो तर यहाँका धेरै युवालाई उनले नयाँ नेपालको भविष्य निर्माण गर्न प्रेरित गरिरहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *