Thursday, October 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

लकडाउनमा थुनिएको बेला यसरी लिन सकिन्छ विश्वस्तरीय विश्वविद्यालयका निःशुल्क अनलाइन कोर्ष

विश्वव्यापी महामारी बनेको कोभिड-१९ लाई थप फैलिन नदिनका लागि घरभित्रै थुनिन परेको यो समयलाई आफ्नो रूचि अनुसारका कोर्ष अनलाइनमा निःशुल्क पढेर उपयोग गर्न सकिन्छ।

काठमाडौं। आज लकडाउनको चौथो दिन। कोभिड-१९ को विस्तार रोक्नका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी एक साताका लागि लकडाउनको आदेश जारी गरेको छ। यो आदेश अरू लम्बिन सक्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताइसकेका छन्।

यसको अर्थ घर बसाइँ अझ लम्बिन सक्छ। कोभिड-१९ को विस्तार रोक्नका लागि यो नै अहिलेसम्मको सबैभन्दा उपयुक्त विधि देखिएको छ। कसैको सम्पर्कमा नगएपछि अरूबाट संक्रमण सर्ने सम्भावना भएन।

आफू संक्रमित भइसकिएको रहेछ भने त्यो अरू धेरै व्यक्तिमा फैलिने सम्भावना पनि कम भयो। विशेषज्ञहरूले एकजना व्यक्तिमा भएको कोरोना भाइरस थप तीन हजार ५०० जनासम्ममा फैलिन सक्ने हिसाब निकालेका छन्। त्यसैले घरभित्र बस्नु नै कोभिड-१९ को फैलावट रोक्ने अचूक उपाय बनेको छ।

यस्तो अवस्थामा घरमै निस्क्रिय बसिरहँदा विभिन्न खालका मानसिक तनाव र समस्याको शिकार भइनसक्ने सम्भावना पनि मनोचिकित्सकहरूले औंल्याएका छन्। त्यसैले घरमा बस्दा जतिसक्यो सक्रिय हुँदै आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ। सिर्जनशील र सिकारू हुँदा एकातर्फ मानसिक तनावबाट मुक्त भइन्छ भने अर्कोतर्फ कोभिड-१९ का कारण सिर्जित लकडाउनपछिको जीवनमा काम लाग्ने सीप र ज्ञानसमेत सिक्न सकिन्छ।

आज हामी घरमै बसीबसी विश्वस्तरीय शैक्षिक संस्था र तिनका प्राध्यापकहरूबाट अनलाइनमार्फत् ज्ञान आर्जन गर्न सकिने तरिकाबारे चर्चा गर्दैछौं। मुक (म्यासिभ ओपन अनलाइन कोर्ष) उपलब्ध गराउने धेरै अनलाइनहरू छन्। त्यसमध्ये प्रमुख तीनवटाबारे यहाँ जानकारी दिइएको छ। फ्युचर लर्न, ईडीएक्स र कोर्षएरा। यी तीन अनलाइन प्लेटफर्ममा धेरै कोर्ष निःशुल्क सिक्न पाइन्छ।

केही साताका लागि भनी डिजाइन गरिएका कोर्षहरूमा भाषा सिकाइदेखि गणित, विज्ञान, कानून, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, बिजनेस स्टडी, क्रियटिभ आर्ट, सूचना प्रविधि, साहित्यलगायतका थुप्रै कोर्षहरू पढ्न पाइन्छ। छलफलमा भाग लिने, एकअर्काका विचारमा प्रतिक्रिया दिने, असाइनमेन्टहरू बुझाउने गर्दा साँच्चिकै विश्वविद्यालयका कक्षाको अनुभूति पनि पाइन्छ। धेरैजसो कोर्ष निःशुल्क पाइने यी साइटमा सफलतापूर्वक सम्पन्न गरेमा प्रमाणपत्र पनि पाइन्छ। तर, धेरैजसो शैक्षिक संस्थाले प्रमाणपत्रका लागि भने निश्चित शुल्क लिन्छन्।

यस्ता अध्ययनले केवल मानसिक तनावबाट मुक्ति दिँदैनन् बरू ज्ञानको नयाँ क्षितिज पनि उघारिदिन्छन्। तपाईंले वर्षौंदेखि जान्न खोजेको, पढ्न चाहेको विषय अनलाइनमै पढ्ने अवसर हुन सक्छ यो लकडाउन।

फ्युचर लर्न

विश्वभरका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थासँगको समन्वयमा डिजाइन गरिएका धेरै नै कोर्षहरू यहाँ पढ्न/सिक्न पाइन्छ। मोबाइल, ट्याबलोइड तथा डेस्कटप कम्प्युटर जहाँबाट पनि यी कोर्ष लिन सकिन्छ।

फ्यूचर लर्नले आफ्नोबारे लेखेको छ- ‘हामी सिक्ने प्रक्रिया रमाइलो हुनुपर्छ र यो सामाजिक अनुभवमा आधारित हुनुपर्छ भन्नेमा विश्वास गर्छौं। त्यसैले हामीले छलफल र आफ्ना विचारहरू अरूसमक्ष साटासाट गर्न अवसर प्रदान गर्छौं।’

फ्युचर लर्नले बेलायतका विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका अतिरिक्त ब्रिटिस काउन्सिल, ब्रिटिस लाइब्रेरी, ब्रिटिस म्युजिएम, नेसनल फिल्म एण्ड टेलिभिजन स्कुललगायतसँग सहकार्य गरेको छ।

https://www.futurelearn.com मा लग इन गर्ने र त्यहाँ रजिष्टर गरी आफ्नो रूचिअनुसारका कोर्ष खोज्न पाइन्छ। यसमा अधिकांश कोर्ष निःशुल्क छन्। तोकिएकै मिति र समयमा उपस्थित हुन सकिएन भने पछि पनि ती सबै सामग्रीहरू निःशुल्क भेट्याउन सकिने भएकाले आफूलाई पायक पर्ने समयमा तिनको उपभोग गर्न सकिन्छ।

ईडीएक्स

ईडीएक्स अनलाइन कोर्ष उपलब्ध गराउने अर्को चर्चित वेबसाइट हो। संसारभरका १४० भन्दा बढी शैक्षिक संस्थाबाट दुई हजार ५०० भन्दा बढी कोर्ष उपलब्ध गराउने जानकारी ईडीएक्सले आफ्नो वेबसाइटमा राखेको छ। एमआईटी र हार्वड विश्वविद्यालयद्वारा स्थापित यो अनलाइन प्लेटफर्म शिक्षा र सिकाइका लागि विश्वसनीय मानिन्छ।

यो प्लेटफर्मबाट अनलाइन कक्षा लिन पनि https://www.edx.org मा लग इन गरेर रजिष्टर गर्नुपर्छ र आफ्नो रूचिअनुसारको कोर्षमा ‘इनरोल्’ गर्नुपर्छ। यसबाट थुप्रै पाठ्यसामग्रीसमेत निःशुल्क डाउनलोड गर्न सकिन्छ। सन् २०१२ मा स्थापना भएको यो अनलाइन प्लेटफर्मले अहिले एमआईटी, हार्वड विश्वविद्यालय, बर्क्ले युनिभर्सिटी अफ क्यालिफोर्निया, युनिभर्सिटी अफ टेक्सास, बोस्टन युनिभर्सिटी तथा हङकङ पोलिटेक्निक युनिभर्सिटीजस्ता विश्वस्तरीय शैक्षिक संस्थासँग सहकार्य गरिरहेको छ।

कोर्षएरा

कोर्षएरा अर्को विश्वासिलो अनलाइन प्लेटफर्म हो। विश्वस्तरीय विश्वविद्यालय र कम्पनीहरूद्धारा दिइने अनलाइन क्लास जहिले जहाँबाट पनि हेर्न र सिक्न सकिन्छ।

यो अनलाइनबाट सिक्ने प्रक्रिया पनि उही हो। https://about.coursera.org लग इन गरी रजिष्टर गर्ने र आफूलाई चाहिएको कोर्षमा इनरोल् गर्ने। सयौं कोर्ष निःशुल्क पाइने यो अनलाइनमा पनि हजारौं भिडिओ लेक्चर पाइन्छ। होमवर्क गर्नुपर्छ र सामूहिक छलफल गर्ने अवसर पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *