Monday, October 26"सञ्चार समाज को ऐना हो ।"
Shadow

कर्णाली राजमार्गको त्यो यात्रा

आच्छु . . ..! कस्तो चिसो। यही बेला सिमसिम पानी परिरहेको छ। धन्न १५ दिनका लागि क्याम्पस बिदा छ र यो मन खुसी छ।

बाहिरी जिल्लाबाट आएर डेरा गरी बस्ने मजस्तै साथीहरू क्याम्पस बिदा भएपछि घर फर्किन तम्सियौं। सुर्खेत नै घर हुनेहरू यतै बसे।

माघ २ सम्म कलेज बिदा थियो। केही दिन घर बसेर म कर्णाली नदीको छेउ पादुका खोला नजिकै जुम्ला कालिकोटबाट आउने गाडी कुर्दै बसें।

झण्डै तीन घण्टा कुराइपछि विहान ११ बजेतिर बस आयो। तर रोकेन। ठेलमठेल यात्रु रहेछन्। परैबाट सहचालकले हात हल्लाउँदै सिट खाली छैन भन्ने जनाउ दिएको थियो।

त्यसपछि एक घण्टामा अर्को बस आयो। यसले पनि रोकेन। आज बस चढ्न नपाए विहान हिडेर आएको बाटो तीन घण्टा हिनेर फर्कनुपर्छ भन्ने पीर लाग्यो।

एकैछिनमा बोलेरो जीप आयो। हाम्रो गाउँका दाइले चलाउने जीप रहेछ। उनैले भने जाने हो भाइ? हामीलाई पनि ढुंगा खोज्दा देवता मिलेझैं भयो नि! चढ्यौं जीप।

सहचालकले भने हुटमा बसे ५० रूपैंयाँ कम भाडा लाग्छ। जीपभित्र त ठाउँ भए पो बस्नु! पहिले नै ठेलमठेल भीड रहेछ।

जीपको छतमा ७ जना यात्रु थियौं। भित्र कति थिए, गन्ती गर्न सकिने थिएन। उकुसमुकुस हुने गरी मान्छे यात्रा गर्दै थिए।

कर्णाली राजमार्ग कर्णाली नदी किनारैकिनार छ। नदीको तिरैतिर। माथि चट्टान तल नदी, कम्ता डर लागेको थिएन त्यो बेला।

सडक साँघुरा। अर्को सवारी साधन आए फराकिलो ठाउँ खोजेर बस्नुपर्ने।

डुंगेश्वर नपुग्दै जीप रोकियो। छतमा रहेका यात्रु झारेर हुइँकियो। किन रहेछ भनेको त केहि पर प्रहरी चेकपोस्ट रहेछ। चेकिङ हुने डरले चालक बाठा भएका रहेछन्।

हामी हिनेर गइरहेका थियौं, जीपका चालक हामीलाई पर्खिरहेका रहेछन्। हामी पुगेपछि फेरि जीपमा यात्रा गर्न थाल्यौं।

हामी सुर्खेत-दैलेख राजमार्गतिर लाग्यौं। तल लोहोरे खोलामा पानी बगिरहेको थियो। माथि चिसो हावा। केहीबेरपछि गुरास गाउँपालिकास्थित गुरासे पुगियो।  

यहाँ पनि पहिलेजस्तै छतमा बस्नेलाई ओर्लन भनियो। हामी झर्‍यौं। यहाँको प्रहरी अलि बाठा रहेछन्, एकैपटक सात जनाको समुह देखेपछि कहाँ जान लागेको भनेर सोधिखोजी गरे। गुरास टिप्न भनेर हामी जोगियौं।

दुई किलोमिटर पर जीप रोकिराखेको रहेछ। चढेपछि केहीबेरमा फेरि जीप रोकियो। फेरि हिड्नुपर्ने! होइन रहेछ खाजा खाने पसलमा पो आइपुगेछौं। यति बेला अपरान्ह ४ बजिसकेको थियो।

यहाँबाट आधा घण्टा यात्र गरेपछि वीरेन्द्रनगर नगरपालिका १४ छेडा पुगियो। यहाँ पनि चेक पोस्ट रहेछ। हुटमा बस्नेजति झरेपछि जीप अगाडि बढ्यो।

कपासे व्यारेक नजिकै फेरि हिड्नुपर्ने भनेपछि चालकसँग बाझाबाझ नै पर्‍यो। थाकिसकेको मान्छेलाई फेरि हिड्न लगाएको निहुँमा।

हिड्न परेन। काखकाखमा बस्यौं। अँध्यारो भएकोले पनि राम्रोसँग चेकजाँच गरेनन्।

जीपमा मान्छे मात्र होइन दुइटा बाख्रा पनि रहेछ। दिनभरि भोक र गाडीमा यात्रा गर्दा बाख्रा उभिन सकेको थिएन। केहीबेरमा बल्ल बल्ल एउटा होटल पुगियो।

कर्णालीका सडक काठमाडौंका जस्ता चिल्ला छैनन्। त्यसैले यहाँ दुर्घटनाको क्रम पनि बढेको छ। दैलेख जाँदा पनि मैले जोखिमयुक्त सडक देखेँ। त्यहाँ पनि चेक पोस्टमा झर्नुपर्ने अवस्था छ। क्षमताभन्दा बढी यात्रु मालबहाक वा यात्रुबहाक सवारीसाधनले बोकिरहेका छन्, प्रहरी प्रशासनको आँखा छलेर।

गएका तीन वर्षमा गाउँमै सवारी साधन पुगेका छन्। तर सडक राम्रो छैन। पहिले भाडा तीन सयले पुथ्यो अहिले सात सय पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *