Friday, October 25"सञ्चार समाज को ऐना हो ।"
Shadow

महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल

महामारीका जोखिम नियन्त्रणतिर आउन थाल्यो भन्नेबित्तिकै परीक्षा हुन्छ, विद्यार्थी तयार रहनुस्: शिक्षामन्त्री पोखरेल (अन्तर्वार्ता)

कोरोना भाइरस (कोभिड–१९) का कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयहरुको केही सेमेस्टरको परीक्षा स्थगित भयो। वैशाख पहिलो र तेस्रो साता शुरु हुने कक्षा–११ र १२ को परीक्षा पनि नियमित कार्यतालिकाअनुसार नहुने भएको छ। विद्यालयको नयाँ शैक्षिक सत्र पनि पूर्ववत् शैक्षिक क्यालेन्डर अनुसार नहुने देखिएको छ। रोकिएका परीक्षा र विद्यालयको शैक्षिक सत्र कसरी शुरु होला ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग  गरेको कुराकानीः

कोरोना भाइरस प्रकोपका कारण एसईई र स्नातक तहको परीक्षा स्थगित गरिएका छन्। कक्षा ११ र १२ को परीक्षा पनि आउँदैछ। रोकिएका परीक्षा कहिले हुन्छ ?

पहिलो त कोभिड १९ को महाविपत्तिको असर कहिलेसम्म पर्छ भन्ने मूल्यांकन गर्नुपर्छ, जुन अहिल्यै भन्न सकिने अवस्था छैन। पूर्व निर्धारित कार्यक्रम अनुसार, एसईई स्थगित भएको छ। कक्षा–१२ को परीक्षा ८ वैशाखदेखि र कक्षा ११ को २१ वैशाखदेखि हुनुपर्ने हो। मुख्यतः एसईई, कक्षा ११ र १२ को परीक्षाको कुरा हो। सीटीईभीटी र विश्वविद्यालयको परीक्षा तालिका निकाल्न पनि जोखिमको अवस्थाको विश्लेषण गर्दैछौं।

विश्वमै जोखिम बढिरहेको छ, छिमेकी मुलुक भारतमा पनि बढिरहेको छ। कम्तीमा पनि सीमानाका र हवाई उडान बन्द गरेको मितिले १८–२० दिनपछि नेपाल फर्किएकाहरुमा कति देखिन्छ, उनीहरुबाट परिवार र समुदायमा सर्ने अवस्थाको एक खालको आकलन गर्न सकिएला कि भन्नेमा छौं। जोखिम नियन्त्रणतिर गयो भन्ने बित्तिकै परीक्षा हुन्छ, जुनसुकै तहका परीक्षार्थी भए पनि घरमै बसेर परीक्षाको तयारी अवस्थामा रहनु पर्‍यो।

शैक्षिक सत्र पनि पछि धकेलिने भयो, अब नयाँ क्यालेण्डर बनाउनुहुन्छ ?

शैक्षिक सत्र सकिएको र नयाँ शैक्षिक शुरु नभइसकेको बीचको समय भएकाले अहिलेसम्म खास फरक परेको छैन। ९ कक्षासम्मको परीक्षा सबै सकिएको छ। सामुदायिक विद्यालयहरुको नयाँ भर्ना वैशाख पहिलो साता शुरु हुन्थ्यो, निजी विद्यालयहरुको पनि पहिलो दोस्रो सातादेखि नै पढाइ शुरु हुने हो।

एक महीना बिदा नै हुने समय भएकाले अब हामीले वैशाख तेस्रो सातादेखि शुरु गर्न सकिन्छ कि सकिंदैन भनेर योजना बनाउने हो। तर, अझै पनि परिस्थिति यस्तै हुन्छ भन्ने भनिहाल्न सक्ने अवस्था नभएकाले पहिलेकै शैक्षिक क्यालेण्डरमा केही बिदा मिलाएर हुन्छ कि परिवर्तन नै गर्नुपर्छ भन्ने विकल्पमा छलफल भइरहेको छ। जनक शिक्षाले पुस्तक सामग्रीले पुस्तक छाप्ने कामलाई निरन्तरता दिने निर्णय भएको छ।

शैक्षिक सत्र पछाडि सार्नुपर्ने भयो भने घर बस्ने विद्यार्थीका लागि सरकारले के गर्छ ?

नियमित शैक्षिक सत्र नचल्दा के गर्ने भन्नेमा व्यापक तयारी भइरहेको छ। अनलाइन शिक्षाको लागि अनलाइन कोर्सहरु निजी शैक्षिक संस्था र कतिपय निजी विद्यालयहरुले पनि बनाएका रहेछन्। उनीहरुले बनाएको कोर्स प्रयोग गर्न मिल्ने रहेछ भने सहकार्य गर्छौं । नयाँ बनाउनुपर्ने रहेछ भने पनि बनाउनेगरी आन्तरिक तयारी भइरहेको छ। कतिपय कलेजहरुले त अनलाइनबाटै अध्ययन-अध्यापन गरिरहेका पनि छन्।

मन्त्रालयले कक्षा ९ र १० को अनिवार्य विषयको पढाइ नेपाल टेलिभिजनबाट पहिलेदेखि चलाउँदै आएको छ, त्यो निरन्तर छ । यो कक्षा आइतबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने गरेको छ। यो कुन तहको लागि हुन सक्छ भनेर विस्तार गर्ने योजनामा छौं। अनलाइन, टेलिभिजन, एफएम रेडियो कुन माध्यमबाट कसरी हुन्छ, गर्नेछौं। कक्षा नहुँदा सबै तहको पढाइमा बाधा नपुग्ने लगायतको अध्ययन गर्न खोज्न विज्ञ समूह बनाइएको छ। त्यो समूहले काम थालिसकेको छ।

कस्तो समूह हो त्यो ? विज्ञ समूहलाई के–के जिम्मेवारी दिइएको छ ?

पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको संयोजकत्वमा नास्ट लगायत शिक्षा, विज्ञान, प्रविधि क्षेत्रका विज्ञ सहितको टोली बनाइएको हो। मुख्यतः अहिलेको अवस्थालाई मध्यनजर गर्दै अल्पकालीन, मध्यकालीन, दीर्घकालीन विकल्पको खोजी गर्न भनेका छौं।

जोखिम बीच पनि स्कूल, कलेज नै गएर कक्षा शुरु गर्नुपर्छ भन्ने अवस्था पनि हुँदैन। संकटकै कारण बालबालिकाको पढ्न पाउने अधिकार हनन् हुनुहुँदैन भनेर आन्तरिक तयारीमा लागेका छौं। समस्याका अगाडि विकल्पहरु पनि हुन्छन्। त्यसैको खोजी विज्ञ समूहले गरिरहेको छ। त्यो समूहले दुई वटा अनलाइन मिटिङ गरिसकेको छ।

नाकाबन्दीका बेला पनि पठनपाठनमा समस्या भएर हामीले गाउँगाउँमा एफएम, रेडियोबाट अध्ययन/अध्यापन गरेको, टेलिभिजनमा कक्षाहरु शुरु गरेको अनुभव छ। ती अनुभव र नयाँ विकल्प अनुसार अगाडि बढ्छौं।

शैक्षिक गतिविधिलाई अघि बढाउनेबारे प्रदेश वा स्थानीय सरकारसँग कसरी समन्वय भइरहेको छ ?

शिक्षाको अधिकार संघ र स्थानीय सरकारमा बढी छ। तर, प्रदेशका सामाजिक विकास मन्त्रीज्यूहरुसँग यही विषयमा छलफल गर्ने तयारी गरिरहेका थियौं। तर, संक्रमणको जोखिमको पूर्व तयारीको काममा उहाँहरु बढी लाग्नुपर्ने भएकाले केही दिन पछि सारिएको छ। मुख्यतः अध्ययन-अध्यापनको कुरा भएकाले संघबाटै यसको तयारी भइरहेको छ। अनौपचारिक रुपमा छलफलहरु भइरहेका छन्।

घर बसिरहेका विद्यार्थी र उनीहरुका अभिभावकलाई यहाँको सुझाव ?

घरमा बस्दाको समयलाई अविभावक र विद्यार्थी दुवैले सदुपयोग गर्नुपर्छ। सबैभन्दा पहिले यो महामारीको जोखिमबाट सजग हुनुपर्छ। त्यसपछि भनेको अरु कुराको सिकाइ, बुझाइ हो। अलि साना तहका विद्यार्थीको लागि आमाबुबा वा अभिभावकको जिम्मेवारी बढी हुन्छ। इन्टरनेटबाट धेरै कुरा सुन्न/हेर्न सकिने सुविधा छ, राम्रो कुरा देखाउने सिकाउने गर्नुपर्छ।

त्यसका साथै बच्चाको उमेर अनुसार, उनीहरुले गर्न सक्ने घरको काम पनि विस्तारै सिकाउँदै। यसले पछिसम्म उसको व्यवहारिक जीवनमा सजिलो हुन्छ। र, ठूलो कक्षाका विद्यार्थीले आफैं बुझ्नुपर्‍यो। अहिलेका युवा पुस्ताको हातहातमा मोबाइल छ। अनलाइनमा भएका सूचनाहरुको विश्लेषण गरेर राम्रो कुरा लिनुपर्छ। विद्यालय तहका ७० लाख विद्यार्थी घरमा छन्। विद्यार्थी र अभिभावक दुवै मिलेर बन्दाबन्दीको यो समयलाई राम्रो कामको लागि सदुपयोग गर्नुपर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *