
काठमाडौंस्थित मुलुककै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरको औषधि पसलमा प्रत्यारोपणका सामग्री नराख्दा बिरामीले सहुलियत नपाएको विषयमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. सन्तोष पौडेल भन्छन्, “विपन्नले १८ फागुनदेखि रु. १ लाखसम्मको औषधि र प्रत्यारोपण सामग्री निःशुल्क पाउँछन्।”

ट्रमा सेन्टरमा विपन्न नागरिकले किन सहुलियत पाउँदैनन् ?
टाउको र मेरुदण्डमा चोट लागेर ट्रमा सेन्टरमा भर्ना भएकाहरूले अघिल्लो वर्ष ३३ प्रतिशत मात्र निःशुल्क सेवा उपयोग गर्न पाए । प्रत्यारोपणका सामग्री अस्पतालको औषधि पसलमा नभएका कारण बिरामीले बाध्य भएर बाहिरबाट किन्नु पर्दा विपन्नलाई दिइएको औषधि उपचार खर्च उपयोग पूर्ण रूपमा भएन । त्यसैले म नियुक्त भएकै दिन ८ फागुनमा अस्पतालको औषधि पसलबाट प्रत्यारोपण सामग्री उपलब्ध गराउने निर्णय गरेको छु ।
विपन्न नागरिकले यस्तो सुविधा कहिलेदेखि निःशुल्क पाउँछन् ?
अस्पतालले ८ फागुनमै टेन्डर प्रक्रिया अघि बढाइसकेको छ । कम्पनी छनोट गर्न मात्र बाँकी छ । विपन्नले १८ फागुनदेखि रु.१ लाखसम्मको औषधि उपचारजन्य सामग्री पाउने व्यवस्था लागू हुन्छ ।
विपन्न बाहेकका बिरामीले पनि अस्पतालको औषधि पसलबाटै प्रत्यारोपण सामग्री किन्न पाउँछन् ?
सबै बिरामीलाई अस्पतालको औषधि पसलबाटै सामग्री खरीद गर्ने व्यवस्था मिलाउनेछौं । त्यसपछि भ्याट बिल विना बाहिरबाट महँगोमा खरीद गर्नुपर्ने, सप्लायर्स कम्पनीका एजेन्ट अस्पतालमा आएर ‘डिल’ गर्ने, शल्यक्रिया कक्षमै प्रवेश गरेर डाक्टरहरूलाई प्रभाव पार्ने गतिविधि रोकिनेछन् ।
ट्रमा सेन्टरका चिकित्सकको मिलेमतोका कारण अस्पतालमा प्रत्यारोपण सामग्री उपलब्ध नभएको आरोप छ नि !
प्रत्यारोपणका सामग्री अस्पतालको औषधि पसलबाट बिक्री गर्नुहुँदैन भनेर ‘लबिइङ’ गर्नेहरू पनि थिए । तर, अस्पतालभित्रैबाट उपलब्ध गराउने निर्णय गरेपछि राम्रो प्रतिक्रिया आएको छ ।
अस्पतालको सेवा प्रभावकारी बनाउन अन्य के कस्ता योजना छन् ?
बोन क्यान्सरका बिरामीका लागि चाहिने प्रत्यारोपणका सामग्री पनि अस्पतालकै औषधि पसलबाट उपलब्ध गराउने, एम्बुलेन्समा प्यारामेडिक्ससहितको सेवा दिने, इमर्जेन्सी सेवालाई व्यवस्थित बनाउन प्रोटोकल बनाउने, शल्यक्रिया सेवालाई बिहान ७ बजेदेखि नै शुरू गर्ने, ट्रमा सेन्टरलाई तालिम र अनुसन्धानको केन्द्र बनाउने, २४ सै घण्टा विशेषज्ञ सेवा दिने र ट्रमा केयरका लागि चाहिने पूर्वाधार र जनशक्ति थप गर्ने लगायतका योजना छन् ।