Sunday, November 3"सञ्चार समाज को ऐना हो ।"
Shadow

विश्‍व बैंक भन्छ- दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धि

‘दक्षिण एशियाको पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

वासिङ्टन । विश्‍व बैंकले यस वर्ष दक्षिण एशियामा ४० वर्षयताकै खराब आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ ।

विश्‍वको उदाउँदो अर्थतन्त्र मानिएको दक्षिण एशियामा यसपटक कोरोना भाइरस संक्रमण (कोभिड-१९)को गम्भीर नकारात्मक पार्ने प्रक्षेपण विश्‍व बैंकको छ ।

भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानलगायत मुलुकमा हालसम्म कोभिड-१९ का न्यून केस मात्र देखिए पनि निकट भविष्यमै यस महामारीको केन्द्र बन्‍ने जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

एक अर्ब ८० करोडभन्दा बढी मानिसको बसोबास रहेको दक्षिण एशियामा केही यस्ता शहर पनि छन्, जसमा विश्‍वमै सर्वाधिक जनघनत्व छ ।

‘दक्षिण एसियामा यसको प्रभाव देखिन थालिसकेको छ,’ विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

बैंकका अनुसार कोरोना भाइरसको संक्रमणअघि दक्षिण एशियाको कुल आर्थिक वृद्धि ६ दशमलव आठ प्रतिशत हुने अनुमान थियो । तर, कोभिड-१९ को महामारीका कारण दुई दशमलव आठ प्रतिशत विन्दुले यसमा गिरावट आउन सक्ने बैंकको अनुमान छ । यस क्षेत्रका आठमध्ये आधाभन्दा बढी मुलुक गम्भीर आर्थिक मन्दीको चपेटामा पर्ने बैंकको आकलन छ ।

आर्थिक मन्दीको सबैभन्दा ठूलो चपेटामा माल्दिभ्स पर्ने विश्‍व बैंकले बताएको छ । अरेबियन सागरको यस स-साना टापुहरू देशको मुख्य आम्दानीको स्रोत नै पर्यटन थियो । त्यहाँ पर्यटनबाट हुने आर्थिक उपार्जनमा १३ प्रतिशतसम्म गिरावट आउने बैंकको प्रक्षेपण छ ।

यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको आर्थिक वृद्धि एक दशमलव पाँच प्रतिशतमा झर्न सक्ने भविष्यवाणी विश्‍व बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *