यूरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटर फाइनलबाटै टोटनहाम र भ्यालेन्सिया बाहिरिएको छ ।
बुधबार राति सकिएको खेलमा लेइपजिङसँग पराजित हुँदै टोटनहाम बाहिरिएको हो । पहिलो लेगमा १–० ले पराजित भएको टोटनहाम दोस्रो लेगमा ३–० ले पराजित भयो । घरेलु मैदानमा टोटनहाम विरुद्ध लेइपजिङले सहज जित निकाल्यो ।
लेइपजिङले दशौं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । दशौं मिनेटमै गोल गरेका मार्केल साविटजरले २१औं मिनेटमा अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २–० ले पछाडि परेको टोटनहामले सान्त्वना गोल समेत फर्काउन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा फेरि लेइपजिङका इमिल फोर्सबर्गले गोल गर्दै क्वाटर फाइनल यात्रा सहज बनाए ।
अर्को खेलमा अटलान्टा भ्यालेन्सिया विरुद्ध जित निकाल्दै क्वाटर फाइनल यात्रा प्रवेश गरेको छ । दोस्रो लेगमा एटलान्टाका जोसिपले ह्याट्रिक सहित चार गोल गरेपछि भ्यालेन्सिया प्रिक्वाटर फाइनलबाटै बाहिरिएको छ ।
पहिले लेग ४–१ ले पराजित भएका भएको भ्यालेन्सिया दोस्रो लेगमा ३–४ गोल अन्तरले पराजित भयो । एटलान्टाका लागि जोसिपले तेस्रो मिनेटमै पेनाल्टी मार्फत गोल गरेका थिए । पहिलो हाफमै दोस्रो गोल पनि पेनाल्टीमार्फत् उनैले गरे । दोस्रो हाफको ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने ८२औं मिनेटमा गोल गर्दै टीमलाई जित दिलाए ।
भ्यालेन्सियाका लागि केभिन ज्यामिरोले २१औं र ५१औं मिनेटमा गोल गरे भने ६७औं मिनेटमा फारान टोरेजले गोल गरे । तर, टीमलाई जित दिलाउन भने सकेनन् ।
दोस्रो लेगमा ४–३ गोल अन्तरले पराजित भएसँगै भ्यालेन्सिया ४–८ को एग्रेगेटमा पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।