Saturday, November 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

जोखिम बढेपछि ‘रेड जोन’ उदयपुरमै कोरोना अस्पताल बनाउने तयारी

काठमाडौं। सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुर जिल्लालाई कोरोना विशेष क्षेत्र घोषणा गरी परीक्षण र उपचारको लागि अस्पताल बनाउन तयारी थालिएको छ।

आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितको टोली उदयपुर पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका छन्।

मुख्यमन्त्री राईको साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको इटहरीस्थित् पूर्वी पृतनापति अनन्त कार्की सैनिक हेलिकप्टरमा उदयपुर पुगेका हुन्।

मुख्यमन्त्री राईले संक्रमितहरूको उपचार व्यवस्था स्थानीयस्तरमै मिलाउन उदयपुरमै अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए।

“धेरै बिरामी भेटिएपछि सावधानी र थप सतर्कता अपनाउन हाम्रो ध्यान यहीँ केन्द्रित गरेका छौं”, उदयपुर पुगेर उनले भने, “रोकथाम, उपचार र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्ने गरी तयारी भइरहेको छ। अस्पताल बनाउने ठाउँ हेर्न, तपाईंहरूका समस्या र भइरहेका प्रयास बुझ्‍न विभागीय मन्त्रीहरूलाई नै लिएर आएको छु।”

उदयपुर जिल्ला अस्पतालको पूर्वाधार सीमित भएकोले नेपाली सेनाको बेलसोत क्याम्पलाई कोरोना उपचार केन्द्र बनाउने तयारी छ।

“आज हामी त्यसैको लागि आएका हौँ। बेलसोतमा निरीक्षण गर्दा त्यहाँ सम्भव देखिए भोलिबाटै अस्पताल निर्माणको प्रक्रिया शुरू हुन्छ”,  मुख्यमन्त्री राईले जानकारी गराए।

नेपालमा कोरोना संक्रमित पुष्‍टि भएका कूल ४९ जनामध्ये प्रदेश १ मा मात्रै ३० जना छन्।

त्यसमा पनि उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा २८ जना संक्रमित फेला परेका हुन्।

विराटनगरस्थित् कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकामा १६ नेपाली र १२ जना भारतीय नागरिक छन्।

‘ट्रयाकिङ’, ‘ट्रेसिङ’ र ‘टेष्‍टिङ’ तीन रणनीतिका साथ उदयपुर र सम्भावित अन्य ठाउँहरूमा कोभिड-१९ विरुद्ध जनशक्ति परिचालन गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

विराटनगरको कोशी अस्पतालमा बनाइएको ५० बेडको कोरोना विशेष अस्पतालमा एकैपटक उपचार गराउने बिरामी बढेपछि प्रदेश सरकारले उदयपुरमै अस्पताल बनाउने गृहकार्य थालेको हो।

समुदायमै संक्रमण फैलिएर जोखिम उच्‍च भएसँगै सम्भावित संक्रमितको आकलन गरेर त्यसलाई धान्‍न कोशी अस्पतालको क्षमताले मात्र नपुग्‍ने प्रदेश सरकारो निश्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *