Thursday, October 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

१० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड

३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल ‘टियर ग्याँस’ प्रयोग गरेको थियो । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए । उनीहरूलाई भगाउन प्रहरीले टियर ग्याँसका सेल हानेको थियो ।

यस क्रममा एउटा डरलाग्दो तथ्य उजागर भयो । भरतपुरमा प्रयोग गरिएका टियर ग्याँसका सेल ९ वर्षअघि नै म्याद गुज्रिएका थिए । तस्वीरबाट पनि प्रष्ट हुन्छ, ३० साउन २०७६ मा प्रयोग गरिएका टियर ग्याँसका ती सेलको म्याद २०१० मार्चमै सकिएको थियो ।

भरतपुर घटना नेपाल प्रहरीले म्याद गुज्रिएका टियर ग्याँस प्रयोग गरिरहेको देखाउने पछिल्लो दृष्टान्त हो । उससँग यस्ता अझै कति टियर ग्याँस बाँकी होलान् ? सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दा समेत चितवन प्रहरीले यस सम्बन्धी कुनै सूचना दिएन ।

‘धेरैजसो म्याद सकिएका’

भीड नियन्त्रणका लागि सुरक्षा फौजहरूले टियर ग्याँस प्रयोग गर्ने चलन संसारभरि छ । तर, मानव स्वास्थ्यका हिसाबले टियर ग्याँस प्रयोग गर्ने/नगर्ने भन्नेबारे संसारभरि नै बहस पनि जारी छ । जनस्वास्थ्य र मानवअधिकारको वकालत गर्नेहरू त यसको प्रयोगमा रोक लगाइनुपर्ने तर्क गर्छन् ।

२३ फागुन २०७३ मा सप्तरीको मलेठमा भीडमाथि टियर ग्याँस हान्दै प्रहरी । राष्ट्रिय मानवअधिकार आयोगले त्यसवेला प्रहरीले प्रयोग गरेका अधिकांशजसो टियर ग्याँसहरू म्याद नाघेका भेटिएको प्रतिवेदन दिएको थियो । (तस्वीरहरूः श्रवणकुमार देव)

जनस्वास्थ्यविज्ञ शरद वन्त भन्छन्, “टियर ग्याँसको विकल्प खोजिनुपर्छ । विकल्प के हुनसक्छ भन्नेबारे विशेषज्ञहरूबीच गहन छलफल हुनसक्छ । तर ठूलो भीड वा समूहमा झन् ठूलो क्षति पु¥याउनसक्ने भएकाले टियर ग्याँसको विकल्प खोज्नैपर्छ ।”

नेपालमा भीड नियन्त्रण गर्ने प्रमुख निकाय हो– नेपाल प्रहरी । भरतपुर घटनाले नेपाल प्रहरीले भीड नियन्त्रणका नाममा गरिरहेको टियर ग्याँसको प्रयोगमा लापरबाहीको हद देखाउँछ ।

तर, सार्वजनिक जानकारीमा आएको त्यो पहिलो घटना थिएन । राष्ट्रिय मानवअधिकार आयोगले २३ फागुन २०७३ मा सप्तरीको मलेठ, विराटनगर र सुर्खेतमा भएका घटनामा बल प्रयोग गर्ने क्रममा प्रहरीले म्याद सकिएका टियर ग्याँस प्रयोग गरेको प्रतिवेदन दिएको थियो ।

“म्याद गुज्रेको टियर ग्याँसका सेल प्रयोग गरेको भेटिएपछि हामीले ‘फरेन्सिक टेस्ट’ पनि गरेर सुनिश्चित ग¥यौं” राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी भन्छिन्, “त्यसवेला प्रकाश अर्याल आईजीपी हुनुहुन्थ्यो, हामीले प्रहरीका जुन जुन युनिटमा टियर ग्याँस छ, त्यसको ‘स्टक’ बुझेर म्याद सकिएको छ भने नष्ट गर्नुस् भनेर निर्देशन दिएका थियौं ।”

तर, आयोगको त्यो निर्देशनप्रति प्रहरीले कुनै वास्ता नगरेको उदाहरण थियो– भरतपुर घटना । म्याद गुज्रिएका टियर ग्याँसले बेलाबखत प्रहरीलाई पनि समस्या सिर्जना गरेका उदाहरण छन् । २०६६ सालमा तत्कालीन प्रहरी उपरीक्षक (एसपी) पुष्कर कार्की जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी प्रमुखका रूपमा सरुवा भएर पोखरा गए । संविधान निर्माण प्रक्रिया चलिरहेको समय थियो । कार्की पोखरा पुगेको केही समयमै त्यहाँ आन्दोलन शुरू भयो । आन्दोलन नियन्त्रणका लागि बल प्रयोग गर्नुपर्ने अवस्था देखेपछि एसपी कार्कीले जिल्ला प्रहरी कार्यालयमा रहेको टियर ग्याँसको ‘स्टक’ बुझ्न लगाए ।

त्यो ‘स्टक’ को विवरण उनलाई झस्काउने खालको थियो । “करीब २०० सेल टियर ग्याँस रहेछन्, सबै डेट एक्स्पायर”, भर्खरै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट सेवानिवृत्त भएका कार्कीले सुनाए, “मैले तुरुन्तै प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेर नयाँ टियर ग्याँस मगाएँ, पुरानो सेल हेड क्वाटर फिर्ता गरिदिएँ ।”

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, नेपाल प्रहरीका लागि यस वर्ष (आर्थिक वर्ष २०७६/७७ मा) चार हजार सेल टियर ग्याँस खरीद गर्ने योजना छ । यसअघि, २०७५/७६ मा पाँच हजार सेल खरीद गरिएको थियो । त्यसभन्दा पनि अघि २०७४/७५ मा भने प्रहरी प्रधान कार्यालयले १० हजार सेल टियर ग्याँस खरीद गरेको थियो ।

प्रहरीले वर्षेनि कति टियर ग्याँस प्रयोग गर्छ भन्ने कुनै टुंगो हुँदैन । त्यही कारण पनि खरीद कति गर्ने भन्ने पनि टुङ्गो हुँदोरहेनछ । कहिले यो ठूलो परिमाणमा हुन्छ, कहिले भने थोरै मात्र खरीद गरिन्छ । यस्तो किन त ?

नेपाल प्रहरीका प्रवक्ता रहिसकेका, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीले आवश्यकताको आकलन गरेर मात्र टियर ग्याँस खरीद गर्ने गरिएको बताए ।

तर, खरीदको आँकडा उपलब्ध भए पनि प्रहरी प्रधान कार्यालयसँग त्यसमध्ये कति टियर ग्याँस खपत भयो र कति बच्यो भन्ने अद्यावधिक आँकडा भेटिंदैन । हामीले पटक–पटक प्रयास गर्दा पनि प्रहरी प्रधान कार्यालयले यस्तो विवरण उपलब्ध गराउन सकेन ।

यसको ‘स्टक’ हेर्ने जिम्मेवारीमा रहेका एक प्रहरी अधिकृतले भने, “प्रहरीका सयौ कार्यालयमा टियर ग्याँस पठाइएको हुन्छ, तिनले कति प्रयोग गरे र कति बच्यो भन्ने विवरण तत्काल एकत्रित गर्न सहज हुँदैन । यसबाहेक तालिमका क्रममा अभ्यास गर्दा पनि टियर ग्याँस प्रयोग हुन्छ । तालिम केन्द्रहरूले कति प्रयोग गरे, कति खेर गयो, कति बच्यो भन्ने विवरण सामान्यतया हेड क्वाटरसम्म आइपुग्दैन ।”

टियर ग्याँस प्रयोग गर्ने निश्चित समयावधि हुन्छ । त्यो अवधिमा प्रयोग नभए म्याद सिद्धिन्छ । प्रहरी प्रवक्ता रहिसकेका, एआईजी थापा भन्छन्, “म्याद सिद्धिएको टियर ग्याँस रिफाइनरी मार्फत पुनः प्रयोग गर्ने विधि–प्रविधि नेपालमा नभएकाले त्यसलाई नष्ट गर्नु नै एकमात्र विकल्प हो ।”

तर, प्रहरीमा लामो समय काम गरेका अधिकृतहरू म्याद गुज्रिएका टियर ग्याँस पनि प्रयोग हुँदै आएको हाकाहाकी सुनाउँछन् । स्टोर हेर्ने व्यक्तिले कतिपय ठाउँमा म्याद गुज्रिएकै टियर ग्याँस पनि पठाइदिने गरेको उनीहरूको अनुभव छ ।

“अहिले ठ्याक्कै के छ म भन्न सक्दिनँ, तर, केही वर्ष पहिलेसम्म धेरैजसो टियर ग्याँसका सेल म्याद सकिएका हुन्थे”, पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, “म्याद सकिएकै कारण कहिलेकाहीं भनेको वेला हान्न खोजेको सेल पड्किंदैनथे ।”

घातक सीएन ग्याँस

नेपाल प्रहरीले भीड नियन्त्रणका लागि सबभन्दा पहिले लाठी चार्ज गर्छ । त्यसबाट नियन्त्रण नभए टियर ग्याँस प्रयोग गर्छ । टियर ग्याँस प्रयोग गर्दा सामान्यतया हावाको बहाव जता छ, प्रदर्शनकारी त्यतै भएको मौका हेरेर प्रयोग गरिन्छ । कानूनतः टियर ग्याँस पनि प्रभावकारी नभएमा पानीको फोहोरा हान्ने र अन्त्यमा घुँडामुनि गोली हान्ने विधि पछ्याउँछ, नेपाल प्रहरीले ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, नेपाल प्रहरीले ६ प्रकारका टियर ग्याँस प्रयोग गर्दै आएको छ । यी प्रकार मूलतः प्रयोग गर्ने तौरतरिका र सेल हान्न प्रयोग हुने उपकरणमा आधारित छन् । जस्तो कि, ३८ एमएम, ग्याँस ग्रिनेड स्मोक, सिम्पल ग्याँस ग्रिनेड, ड्युअल फायर सेल, लङ्ग रेञ्ज र भेइकल इलेक्ट्रोनिक ग्याँस सेल ।

टियर ग्याँसमा हुने रसायन (केमिकल) को बनोटका आधारमा हेर्ने हो भने चाहिं प्रहरीले दुई प्रकारका टियर ग्याँस प्रयोग गर्छ– सीएस र सीएन ।

अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनको ‘नेशनल सेन्टर फर बायोकेमिस्ट्री इन्फर्मेसन’ का अनुसार, सीएस ग्याँस यस्तो ‘एरोसेल’ हो जो हावाको सम्पर्कमा आउनासाथ स्वतः बाफ बन्ने गर्छ । यसलाई आमरूपमा गैरघातक हतियारका रूपमा लिइन्छ । सीएन ग्याँस चाहिं अलि धेरै विषाक्त ग्याँस मानिन्छ । धेरै मुलुकले सन् १९५९ पछि नै सीएन ग्याँसलाई सीएस ग्याँसबाट प्रतिस्थापन गर्न थालेका हुन् ।

‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमिस्ट्री’ का अनुसार त्यही क्रममा सन् १९९३ को ‘केमिकल वीपन्स् कन्भेन्सन’ ले सीएन टियर ग्याँसको प्रयोगमा रोक लगाउनुपर्ने निष्कर्ष निकालेको थियो । त्यसको एक वर्षपछि, सन् १९९४ देखि १९९७ सम्ममा अङ्गोला, इजिप्ट, उत्तरकोरिया, सोमालिया बाहेक प्रायः धेरै देशले यो कन्भेन्सनमा हस्ताक्षर गरे ।

तर, पनि यसको प्रयोग विश्वव्यापी रूपमा रोकिएको छैन । नेपाल प्रहरीले पनि अहिलेसम्म सीएन ग्याँस समेत प्रयोग गरिरहेको छ ।

विश्वव्यापी रूपमै घातक मानिने सीएन ग्याँस प्रयोग गरिरहेको नेपाल प्रहरीले त्यो पनि म्याद सकिएकै किन प्रयोग गर्दैछ ? के टियर ग्याँसको अभावले यस्तो गरिएको हो ? प्रहरी प्रवक्ता, डीआईजी थापा भने अभाव भएको स्वीकार्दैनन् । “कुनै युनिटमा अभाव हुनसक्छ, तर समग्रमा यसको अभाव हुन्न” उनले भने, “हामी वार्षिक रूपमा पनि खरीद गर्छौं, ‘निड बेसिस’ मा पनि गर्छौं । त्यसैले अभाव छैन ।”

अभाव छैन भने म्याद सिद्धिएका टियर ग्याँस प्रयोग गर्नुपर्ने अवस्था किन आउँछ त ? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार, यसको चुरो प्रहरीमा हुने खरीद प्रक्रियासँग जोडिन्छ । उनको बुझाइमा प्रहरीमा कहिल्यै पनि महत्व नपाउने खरीद प्रक्रिया यसको एउटा प्रमुख कारण हो । “जस्तो कि प्रहरीमा पोशाक स्केलबारे सधैं झगडा हुन्छ, पोशाकको पूरा स्केल कहिल्यै नआउने हुँदा जति आउँछ त्यसमै म्यानेज गर्ने हो” उनी भन्छन्, “प्रहरीमा जनशक्ति र आवश्यकता बढे अनुसार बजेट बढ्दैन, टियर ग्याँसको कुरालाई पनि यसबाट पृथक् राखेर हेर्न सकिन्न ।”

समाजमा बढिरहेको आक्रामक प्रवृत्ति पनि यसमा जिम्मेवार रहेको प्रहरी अधिकृतहरू बताउँछन् । जस्तो कि, पहिले सिठी र लाठीचार्ज गरेकै आधारमा तितरवितर हुने भीड अहिले त्यसका भरमा टसमस नै गर्दैन । यसले पनि धेरै टियर ग्याँस खपत हुन्छ । अनि नयाँ खरीद तत्कालै हुन नसक्ने हुँदा प्रहरीका विभिन्न युनिटले पुरानै ‘स्टक’ पनि प्रयोग गर्छन्, जुन प्रायः म्याद सकिएको हुन्छ ।

पछिल्लो समय राजनीतिक आन्दोलन र विरोध प्रदर्शन ठप्प जस्तै छन् । लामो समयदेखि प्रहरीलाई राजनीतिक आन्दोलन नियन्त्रणमा केन्द्रित हुनुपरेको छैन । यसको अर्थ तीन–चार वर्ष पहिले खरीद गरिएका टियर ग्याँस प्रयोग गर्नुपरेको छैन । म्याद गुज्रिएका टियर ग्याँस प्रयोग हुने यो अर्को कारण हो ।

“पुरानो स्टक नसकिएसम्म नयाँ ल्याउने चलन हुन्न” एक वरिष्ठ प्रहरी अधिकृतले भने, “अब आन्दोलन भयो भने निस्कने टियर ग्याँस धेरैजसो म्याद सकिएकै हुन् । किनभने म्याद सकिएपछि प्रायः रिप्लेस गर्ने गरिएको मलाई थाहा छैन ।”

प्रहरी प्रवक्ता, डीआईजी शैलेश थापा भने म्याद सकिएको टियर ग्याँस प्रयोग नगरी ‘रीतपूर्वक नष्ट गर्ने गरिएको’ दाबी गर्छन् । के प्रहरीले म्याद सकिएको टियर ग्याँस प्रयोग गरेकै छैन त ? थापाले भने, “लोकल कमाण्डर सजग भएन भने चाहिं म्याद गुज्रेका टियर ग्याँस प्रयोग हुन पनि सक्छ । तर, संस्थागत रूपमा चाहिं त्यस्तो भएको छैन, हुँदैन ।”

जनस्वास्थ्यमा खेलबाड

टियर ग्याँस जनस्वास्थ्यका लागि कति हानिकारक छ भन्ने एउटा उदाहरण हुन् उदयपुर गाईघाटकी नजवुल खान । ५ वैशाख २०६३ का दिन उनी उदयपुरको गाईघाटमा निस्किएको एउटा जुलुसमा सहभागी थिइन् । प्रहरीले हानेको टियर ग्याँस उनलाई लाग्यो । ५ घण्टापछि होसमा आउँदा उनको स्वर पहिलो जस्तो थिएन । नजवुल भन्छिन्, “दिल्लीमा गएर पनि उपचार गरें, तर मेरो स्वर पहिला जस्तो आएन ।” (वार्ता बक्समा)

टियर ग्याँसको नकारात्मक असर बारे विभिन्न अध्ययनहरूका निचोड सार्वजनिक रूपमा उपलब्ध छन् । अध्ययनहरूले देखाएका छन्– ‘टियर ग्याँस एक रासायनिक हतियार हो जसले आँखा र श्वास–प्रश्वासमा अवरोध गर्छ, छाला जलाउँछ र अन्धोपन पनि निम्त्याउन सक्छ ।’

(बायाँ) २२ वैशाख २०७७ मा सिरहाको मिर्चैया नगरपालिका–७ को फूलबारीमा राहत वितरणका क्रममा भएको विवादमा प्रहरीले भीड तितरवितर पार्न प्रयोग गरेको म्याद/मिति नदेखिने टियर ग्याँसको खोका (तस्वीरः सुरेन्द्र कामती) । ३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले प्रयोग गरेको टियर ग्याँस । जसको म्याद गुज्रेको ९ वर्ष भइसकेको थियो (तस्वीर वरिष्ठ अधिवक्ता सुशील पन्तको फेसबूकबाट) । (दायाँ) भीड नियन्त्रण गर्न सप्तरीको मलेठमा टियर ग्याँस हान्दै प्रहरी ।

ब्रसेल्सको हिलारिस पब्लिसर्सद्वारा प्रकाशित ‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमेस्ट्री’ (भोल्युम–२, अंक ३, सन् २०१५) का अनुसार, विश्वव्यापी रूपमा प्रयोग हुने टियर ग्याँस मानव स्वास्थ्यका हिसाबले निकै हानिकारक छन् ।

सो जर्नलका अनुसार, टियर ग्याँस प्रयोग भएको १० देखि १५ मिनेटसम्म आँखा हेर्नै समस्या हुन्छ । श्वास फेर्न गाह्रो हुन्छ । कतिपयलाई वान्ता हुने, नाक, कान र घाँटीको समस्या निम्त्याउनेदेखि आँखाको ज्योति गुम्ने पनि हुनसक्छ । यसबाट शरीर बिग्रने मात्र होइन, ज्यान जान पनि सक्छ ।

२०६२/६३ को आन्दोलनका क्रममा नेपालगञ्जमा ज्यान गुमाएकी सेतु विकको मृत्यु प्रहरीले हानेको टियर ग्याँसबाट भएको थियो । त्यसवेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा ‘२०६३ वैशाख ५ गतेको आन्दोलनमा सहभागी हुने क्रममा प्रहरीले हानेको टियर ग्याँस छातीमा लागेर घाइते भएकी साविकको बागेश्वरी गाविस–३ निवासी सेतु विकलाई उपचारका लागि भारतको लखनऊ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको’ उल्लेख छ । सरकारले सेतुलाई शहीद घोषणा गरेको छ ।

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्राध्यापक रामेश्वर अधिकारी टियर ग्याँस एक प्रकारको रासायनिक हतियार भएकोले स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताउँछन् । “यसले हाम्रो आँखा, फोक्सोमा गएका नसाहरूमा आक्रमण गरेर छोटो समयका लागि निष्क्रिय गराइदिने गर्छ, शरीर कमजोर रहेछ भने मृत्यु पनि गराउन सक्छ” प्राध्यापक अधिकारीले भने, “टियर ग्याँसले शरीरमा भएका सेल, तिनका गतिविधिलाई समेत मारिदिने हुँदा यो निकै खतरनाक हुन्छ ।”

मानव स्वास्थ्यका लागि घातक रसायन हुने भएकैले विश्वव्यापी रूपमै यसको प्रयोगमा रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ । अन्यत्र जस्तै नेपालमा पनि यसबारे आवाज उठ्न थालेको लामो समय भइसकेको छ ।

टियर ग्याँसको प्रयोग रोक्नुपर्ने माग सहित अधिवक्ता धनञ्जय खनालले २०६३ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २५ जेठ २०६३ मा सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै सम्बन्धित विषयविज्ञको अध्यक्षतामा स्वास्थ्य र गृह मन्त्रालय तथा प्रहरी प्रतिनिधि समेत सम्मिलित एक विशेषज्ञ टोली गठन गर्न र टियर ग्याँस स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने अध्ययन गर्न निर्देशन दिएको थियो ।

सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको थियो– ‘यो ग्याँसको विकल्प अरू के छ ? स्थानीय प्र्रशासनले अन्य उपायबाट शान्तिसुरक्षा कायम गर्न खोज्दा कत्तिको प्रभावकारी हुनसक्छ ? यी विषयमा अध्ययन गरी एक वर्षभित्र प्रतिवेदन दिनू र त्यसैका आधारमा आवश्यक व्यवस्था गर्नू ।’ तर, सर्वोच्चको यो आदेश कार्यान्वयन भएन ।

टियर ग्याँस यसै पनि मानव स्वास्थ्यका लागि जोखिमपूर्ण छ । त्यसमाथि म्याद सिद्धिएको टियर ग्याँस झन् कति घातक होला ? टियर ग्याँसमा निहित रसायनको ‘कम्पोजिसन’ के हुन्छ भन्ने कुरा यसमा महत्वपूर्ण हुन्छ । मानव स्वास्थ्यलाई जोगाउन बनाइएको औषधि त मिति गुज्रिएपछि घातक हुन्छ भने टियर ग्याँस झन् के होला ? प्राध्यापक अधिकारी भन्छन्, “सामान्य सिद्धान्त अनुसार कुनै पनि रसायन लामो समय राख्दा त्यो अर्कै चीज बन्न जान्छ ।”

यो कत्तिको घातक हुन्छ त ? “प्लाष्टिक वा रबरभित्र राखिने हुँदा त्यहाँभित्र त्यो ‘रियाक्टिभ’ भएको हुन्न, अर्को कुनै पदार्थको संसर्गमा आएपछि नै ‘रियाक्टिभ’ हुने हो” प्राध्यापक अधिकारीले भने, “हानिकारक विष भएकाले त्यसको विषालु गुण यथावत् हुन्छ । म्याद सकिएपछि यो अर्कै विष बन्छ कि बन्दैन भन्नेबारे त प्रष्ट छैन, तर टियर ग्याँसको प्रभावकारिता भने धेरै राखेपछि स्वतः घट्छ ।”

प्रभावकारिता घट्नु नै यसको सबभन्दा घातक पक्ष हो । किनभने यसको प्रमुख उद्देश्य नै घातक हतियारको प्रयोग हुन नदिनु हो । गैरघातक (नन लिथल) हतियारका रूपमा लिइने टियर ग्याँस प्रयोग गर्नुको उद्देश्य भनेकै जम्मा भएको भीडलाई तितरवितर पार्ने हो ।

“म्याद सकिएको टियर ग्याँस प¥यो भने, भनेको वेला पड्कन्न, पड्किए पनि प्रभावकारी हुन्न, त्यसो हुँदा प्रहरीले घातक हतियार र धेरै बल प्रयोग गर्नुपर्ने हुन्छ” पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “अनि न्यूनतम बल प्रयोग गर्नुपर्ने सिद्धान्त विपरीत अधिक बल प्रयोग गर्नुपर्ने हुन्छ, त्यसले ठूलो दुर्घटना र क्षति पनि निम्त्याउँछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *