पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन खुकुलो बनाउने प्रस्ताव अघि सारेका छन् । उनले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई टेलिफोन गरेर लकडाउनको नयाँ मोडल बनाउन प्रस्ताव गरेका हुन् ।
बागलुङकी कोरोना संक्रमित मनकुमारी पौडेल र अंशु सापकोटा निको भएर घर फर्किएपछि गण्डकी प्रदेश ‘ग्रिन जोन’मा परेको मुख्यमन्त्री गुरुङको दाबी छ । उनकाअनुसार गण्डकी प्रदेशमा अहिलेसम्म चार हजार सात सय चार जनाको र्यापिड टेस्ट भइसकेको छ । विदेशबाट फर्किएका सबैजसोको पीसीआर टेस्ट गर्नुपर्ने भएपनि किट अभावले गर्न नसकिएको उनको भनाइ थियो ।