अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई संयुक्त राज्य अमेरिकामा प्रवेश दिने व्यवस्थालाई अस्थायी रुपमा खारेज गर्न लागेको घोषणा गरेका छन्।
सोमबार राति ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको रोजगारीको सुनिश्चितताका लागि आप्रवासीलाई अस्थायी रुपमा रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको जनाएका हुन्। तर, कस्तो आदेशमा हस्ताक्षर गर्न लागिएको हो भन्ने विस्तृत खुलाइएको छैन।
कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि अमेरिकामा बेरोजगारी दर ह्वात्तै बढेको छ।
अमेरिकाले आप्रवासी भीसा दिन बन्द गरेमा रोजगारीमा आधारित आप्रवासनसहितका विभिन्न प्रकारका भीसा अस्थायी रुपमा बन्द हुने सम्भावना छ। ट्रम्पले भने जस्तै आप्रवासीलाई रोकिएमा अमेरिकाको चर्चित डाइभर्सिटी भीसा (डीभी), परिवारमा आधारित आप्रवासन जस्ता प्रवेशाज्ञा रोकिनसक्छन्।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार, अमेरिकामा कोभिड-१९ बाट ७ लाख ५० हजारभन्दा बढी संक्रमित छन् भने हालसम्म ४२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्।