जनताद्वारा निर्वाचित संविधान सभाले जारी गरेको संविधानले चार वर्ष पूरा गरेकै दिन हामी सेतो पत्रिका लिएर आएका छौं।
आफूले चुनेका प्रतिनिधिमार्फत् संविधान बनाउने झण्डै सात दशकदेखिको नेपाली सपना साकार भएको यो ऐतिहासिक दिनलाई नै हामीले पाठक, दर्शक र श्रोतासँग जोडिने प्रस्थानबिन्दु बनाउने निधो गर्यौं।
जननिर्वाचित संविधान सभामार्फत् जारी यो संविधान नेपालका अघिल्ला संविधान भन्दा धेरै कोणबाट फरक छ। यसले नेपाली समाजको विविधतालाई आत्मसात् गरेको छ। व्यक्तिको प्रतिष्ठा, अधिकार र आत्मसम्मानलाई सर्वाधिक महत्व दिएको छ। सिंगो राज्य प्रणालीलाई सामेली बनाउने संकल्प गरेको छ। नागरिकको स्वतन्त्रतालाई आफ्नो अभिन्न पहिचान बनाएको छ।
संविधानमा सुनिश्चित स्वतन्त्रताको यही फराकिलो मैदानमा जिम्मेवार पत्रकारितामार्फत् हामीले सबैलाई सुसूचित गर्ने प्रयत्न गर्नेछौं। नेपाली नागरिकले आफूमा निहित सार्वभौमसत्ताको प्रयोगमार्फत् बनाएको संविधान अहिले कार्यान्वयनको चरणमा छ।
२०७४ सालमा सम्पन्न तीन तहका निर्वाचनबाट संविधानले परिकल्पना गरेका राजनीतिक पूर्वाधार तयार भएका छन्। तथापि कानूनी र संरचनागत कैयौं काम अझै बाँकी छन्।
संविधानले आफ्नो सबल पक्ष सिद्ध गर्न बाँकी नै छ। त्यसो त संविधान आफैंमा गतिशील दस्तावेज हो । समयको गतिसँगै हुने परिमार्जनबाट यो समृद्ध बन्दै जानेछ। त्यसैले नेपालको संविधान लचिलो छ। समयको आवाजलाई आत्मसात् गर्ने विशेषतायुक्त छ।
सार्वभौम जनताद्वारा निर्वाचित संविधान सभाको अत्याधिक बहुमतले जारी भए पनि संविधानले घोषणासँगै पूर्ण स्वीकारोक्ती नपाएको भने इतिहासमा अभिलेख भएको सत्य हो। संविधान जारी हुँदै गर्दा चर्किएका असन्तुष्ट आवाजकै कारण सबै नेपाली जनताले हर्षोल्लासको मौका पाएनन्।
संविधानबारे एउटा निश्चित तह र तप्कामा देखिएको असन्तुष्टि भजाएर दक्षिणी छिमेकी भारतले पाँच महिनासम्म अमानवीय नाकाबन्दी थोपार्यो। यो पनि इतिहासमा अभिलेख भएको अर्को सत्य हो।
सुखद पक्ष के भने, नाकाबन्दीविरुद्ध स्वःस्फूर्त जुर्मुराएको नेपाली स्वाभिमानले राष्ट्रिय एकताको भावनालाई मजबुत बनायो। साथै संविधानको रक्षार्थ निर्णायक भूमिका वहन पनि गर्यो। परिणाम, असन्तुष्टिका स्वर क्रमशः मत्थर हुँदैछन् र असन्तुष्टहरू नै संविधानको प्रक्रियाभित्र सामेल भएका छन्।
संविधानकोे स्वीकार्यता फराकिलो बन्दै गएको छ। संविधान स्वयम् समृद्ध बन्दै जाँदा प्रत्येक नागरिकको ढुकढुकी अवश्य बन्नेछ।
संघीयता र समावेशीपन नेपालको संविधानका जग हुन्। संविधान कार्यान्वयनको बाटो भने त्यति सहज देखिँदैन। राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्रसम्मका केन्द्रीकृत सोच, आचरण र व्यवहार यसमा प्रमुख चुनौती बन्दै गएका छन्।
साथै संविधानमाथि विभिन्न बहानामा भइरहेका प्रहार खतराका संकेत हुन्। पारदर्शी, जवाफदेही, विश्वसनीय, दक्ष र दूरदर्शी शासन संयन्त्रको अभाव दैनन्दिनको जीवनमा संविधानको अनुभूतिका बाधक हुन्।
संविधानको दिगोपनमै देशको हित र नागरिकको भविष्य जोडिएको छ।
‘समाजवादउन्मुख’ संविधानले तय गरेको समृद्धिको मार्गचित्र नागरिकको आर्थिक विकासको चाहनासँगै जोडिएको छ। यसअर्थमा संविधान हरेकको वर्तमान र भविष्यसँग एकाकार हुन पुगेको छ । त्यसैले हरेक क्षेत्र, समुदाय, तह र तप्काका गुनासा र असन्तुष्टि सम्बोधन पनि संविधानकै मर्म हो।
संविधानको दिगोपन अधिकार र पहुँचको अनुभूति निर्माणमा रहन्छ भने यसको दिगोपनाले गुनासा र असन्तुष्टि सम्बोधन गर्छ।
हामी प्रष्ट छौं– संविधानसभाबाट जारी संविधानको अर्को विकल्प छैन र यसको गतिशीलतामै समाजका तमाम् असन्तुष्टिको समाधान खोजिनुपर्छ।
हामी नागरिक स्वतन्त्रता, कानूनको शासन, मानवअधिकार र सामाजिक न्याय, प्रतिस्पर्धात्मक दलीय व्यवस्था, स्वतन्त्र न्यायालय, आवधिक निर्वाचन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, जवाफदेही संयन्त्रको माग गर्ने अधिकारलगायत लोकतन्त्रका आधारभूत मूल्य–मान्यताप्रति अविचलित रहँदै तिनको वकालत गर्नेछौं। खुला बजार र उपभोक्ता हितको पक्षपोषण गर्नेछौं।
‘मल्टिमिडिया कन्टेन्ट प्लेटफर्म’सेतो पत्रिका शब्द, दृश्य र आवाजको त्रिवेणी हो। हामी सूचना–प्रविधिको विकाससँगै आमसञ्चारमा पाठक, दर्शक र श्रोताको बदलिएको रूचिअनुसारका सामग्री पस्कनेछौं।
स्वरूप र प्रस्तुतिको शैली जे–जस्तो भए पनि जिम्मेवार, उत्तरदायी र विश्वसनीय पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ । पाठक, दर्शक र श्रोताबाट अपेक्षित हरघडीका सूचना प्रवाह गर्न हामी प्रतिबद्ध रहन्छौं। साथै आफ्नो विश्वसनीयता कायम राख्न पनि हामी उत्तिकै सचेत रहनेछौं।
लोकतन्त्रमा नागरिकले प्रश्न गर्छन्, पारदर्शिता खोज्छन् । नागरिकलाई सुसूचित गर्ने जिम्मेवारी वहनका क्रममा हामी सधैं प्रश्न गरिरहनेछौं।
राज्य सञ्चालनभित्रका बेथिति, अनियमितता र अराजकता उजागर गर्न हामी तटस्थताको दायरामा सीमित हुनेछैनौं।
हामी पक्षधरता लिनेछौं– विधिको शासन, राष्ट्रिय हितको जगेर्ना र नागरिकको सर्वोपरि हित रक्षाका निम्ति।
संविधानको प्रस्तावनामै उल्लेख प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध विचार तथा अभिव्यक्तिको स्वतन्त्रता हाम्रा प्राण हुन्। तर, हामी अधिकारको उपभोग गर्ने क्रममा कर्तव्य भुल्ने छैनौं।
अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपयोग गर्दै हामी जवाफदेही शासन सञ्चालनको पैरवी गर्ने नै छौं। साथै, समाजमा हुने हरेक सकारात्मक प्रयत्न पनि उजागर गर्नेछौं। आदरणीय पाठक, दर्शक र श्रोताले हामीलाई त्यसका लागि सधैं बाटो देखाइरहनुहुनेछ। हामी विश्वस्त छौं।