Wednesday, October 23"सञ्चार समाज को ऐना हो ।"
Shadow

कोरोनाको स्वरुपमा परिवर्तन त आएको होइन ?

 पूर्वी चितवनको राप्ती नगरपालिका–८ का आमाछोरा ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल फर्किए । त्यसको भोलिपल्ट अर्का छोरा हङकङबाट आए ।

सुख्खा खोकी, ज्वरो लगायतका कुनै लक्षण पनि देखिएन । विदेशबाट फर्किएको पनि महिना दिन पुगिसकेको थियो, त्यसैले सबै ढुक्क थिए । त्यसैले आफन्तकहाँ बिस्तारै आउजाउ पनि सुरु भएको थियो ।

स्थानीय तहले विदेशबाट आएकाहरुको र्‍यापिड टेस्ट गर्दा उनीहरू पनि सहभागी भए । र्‍‍यापिड डायग्नोस्टिक विधिबाट परिएको परीक्षणमा ६३ वर्षकी आमा र २७ वर्षका छोरामा कोरोना पोजेटिभ देखियो । त्यसपछि भरतपुरमै पीसीआर विधिबाट परीक्षण गर्दा पनि पोजेटिभ आएपछि थप जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइयो ।

आमाछोराको रिपोर्ट पोजेटिभ आयो । भरतपुर अस्पतालको आइसोलेन वार्डमा रहेकी आमालाई सुगर र उच्च रक्तचापको समस्या भएको संक्रमित महिलाका छोराले बताए ।

‘आमालाई दीर्घरोग छ, तर ज्वरो, रुघाखोकी केही छैन । हामीलाई पनि केही समस्या छैन’ एक छोराले टेलिफोनमा अनलाइनखबरसँग भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पनि दुवैमा कुनै लक्षण नभएको बताए । ‘उहाँहरुको शरीरमा भाइरस छ। तर, लक्षण देखिएको छैन’ उनले भने ।

हङकङबाट आएर परिवारमा सँगै बस्दै आएका अर्का छोरामा भने संक्रमण देखिएको छैन ।

यसअघि ५ चैतमा बेलायतबाटै आएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षकी आमा र ५८ वर्षका छोरामा पनि वैशाख २ गते कोरोना भाइरसको संक्रमण देखिएको थियो भने बुहारीमा संक्रमण देखिएको थिएन । यद्यपि ¥यापिड टेष्टमा तीनैजनाको पोजेटिभ थियो ।

सनसिटी र चितवनको केसमा केही समानता देखिन्छ ।

  • दुबै केसका संक्रमित कोरोनाको संक्रमण फैलिएको मुलक बेलायतबाट आएका थिए, त्यो पनि एकै दिन ।
  • संक्रमितहरुमा कुनै लक्षण देखिएको छैन
  • र, झण्डै एक महिनापछि गरिएको परीक्षणमा उनीहरुमा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

जब कि कोरोनाबारे अहिलेसम्मको मान्यता के हो भने विश्वभर मानव शरीरमा भाइरस प्रवेश गरेको एक दिनदेखि १४ दिनभित्र संक्रमणकालीन अवस्था हुन्छ । अधिकांशको हकमा यो अवधि पाँचदिनको हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वयंले भनेको छ, ‘संक्रमणकालीन अवस्था अर्थात् एन्क्युबेशन पिरियड भाइरस शरीरमा प्रवेश गरेर रोगको लक्षण देखिने समय हो । धेरैको आँकलनमा यो अवस्था एक दिनदेखि १४ दिनको बीचमा हुन्छ । अधिकांशको हकमा यो अवधि पाँच दिनको हुन्छ । यो आकलन यो भाइरसको अझै धेरै तथ्यांक प्राप्त भएपछि अद्यावधिक गरिनेछ ।’

त्यसो भए विदेशबाट आएको एक महिनापछि कसरी संक्रमित भए ? कतै स्थानीय संक्रमण त होइन ?

संक्रमितको ट्राभल हिस्ट्री र सम्पर्कमा आएकाहरुको परीक्षण रिपोर्टका आधारमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दुबै केसलाई आयातीत संक्रमण मानेका छन् ।

त्यसमा सहमत भरतपुर अस्पतालका मेसु डा. तिवारी भन्छन्, ‘संक्रमण देखिन बढीमा तीन सातासम्म लाग्न सक्छ भनियो । केहीको हकमा अझ लामो समय पनि लिन सक्छ । त्यसैले यो पनि विदेशबाट आएको केस नै मानेका छौं ।’

त्यसोभए कोरोनाको स्वरुप परिर्वतन भएको हो त ? स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भन्छन्, ‘यसका लागि चीनको वुहानबाट सुरु भएको भाइरस युरोप हुँदै नेपाल आइपुग्दा के–के परिर्वतन भयो भन्ने अध्ययन गर्नुपर्छ ।’

त्यसमा सहमति जनाउँदै जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित भन्छन्, ‘हामीले दुई वटा अध्ययन गर्नुपर्छ ।’

पहिलो, नेपालीहरुमा कोरोना भाइरस प्रतिरोधी क्षमता कति छ ?

दोस्रो, वुहान र इटलीमा देखिएको र नेपालमा भेटिएको कोरोनामा जिनेटिक परिर्वतन के छन् ?

कतिपयले नेपालीहरुमा कोरोना प्रतिरोधी क्षमता छ भन्ने भ्रममा पर्न नहुने तर्क पनि गरेका छन् ।

तर डा. दीक्षित यो अध्ययनको विषय मान्छन् । उनको तर्क छ, ‘हामीलाई थाहा छ कि कोरोनाका संक्रमित मध्ये ८५ प्रतिशतलाई निकै कम संक्रमण देखिन्छ । तर, बाँकी १५ प्रतिशत खोइ त ? ७० वर्ष कटेका र अरु दीर्घरोग भएका मानिसहरु पनि स्वासप्रश्वासको समस्या भएर अस्पताल गएका त छैनन् ।’

उनले अघि भने, ‘७० वर्ष उमेर केटेका १०० जनामा परीक्षण गर्दा आडीटी पोजेटिभ र पीसीआर नेगेटिभ आयो भने कोरोना प्रतिरोधी क्षमता छ भनेर मान्नुपर्छ ।’

साथै भाइरस नेपाल आइपुग्दासम्म यसमा के जिनेटिक परिर्वतन आयो भनेर अध्ययन गर्नुपर्ने उनले सुझाए । डा. दीक्षित भन्छन्, ‘नेपाल मात्र होइन, भारतमा मृत्यदर कम छ । त्यसले वुहान र इटलीमा देखिएको भाइरस र दक्षिण एसियामा देखिएको भाइरसको जिनेटिक परिवर्तन अध्ययन गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *