पेरिस। फ्रान्सको राजधानी पेरिसबाट नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डम पुग्न रेलबाट तीन घण्टा २० मिनेट लाग्छ। विमानबाट यात्रा गर्दा पनि एक घण्टा २० मिनेट लाग्छ। सडकबाट यात्रा गर्नु पर्यो भने त पाँच सय सात किलोमिटर पार गर्न पाँच घण्टा २६ मिनेट खर्चिनुपर्छ।
वैज्ञानिकहरू ती सबैको विकल्प तयार पार्न जुटेका छन्। भविष्यमा दुई मुलुकका राजधानी जोड्ने माध्यम तयार हुँदैछ, हाइपरलुपको। यातायातका साधन र अन्तरिक्ष यानको गति अहिलेको भन्दा तीव्र बनाउने वैज्ञानिकहरूको प्रयासको एक हिस्सा हो यो।
नेदरल्यान्ड्सका अधिकारीहरू सार्वजनिक यातायातमा हाइपरलुप प्रविधि सस्तो र सहज रहेकामा सहमत भइसकेका छन्। हाइपरलुप भविष्यका लागि प्रस्तावित यातायातको साधन हो।
चिप्लो कोसा या क्याप्सुल आकारको यातायातको साधन कम दबाबवाला स्टिल ट्युबमा दौडिन्छ, जसले प्रतिघण्टा ६ सय माइलभन्दा बढीको गति समात्छ।
यातायातको यो नयाँ माध्यम हालमा तीव्र गतिका रेल र विमानभन्दा विश्वसनीय हुने दाबी वैज्ञानिकहरूको छ। यसले भविष्यमा एक देशबाट अर्कोमा मात्र होइन, एक महादेशबाट अर्को महादेशसम्म सहजै यात्रा गराउने विश्वासमा वैज्ञानिकहरूको देखिन्छ।
नेदरल्यान्ड्सको हार्ट हाइपरलुपले उत्तर हल्यान्ड प्रान्तीय सरकारसँगको सहकार्यमा यसको परीक्षण गर्ने घोषणा गरेको छ। त्यसबाट युरोपभर हाइपरलुप नेटवर्क तयार पार्न सहज हुने विश्वास कम्पनीको छ।
खासगरी, आम्स्टर्डमलाई युरोपका ठूला शहरहरूसँग जोडेर आर्थिक उपार्जनका लागि राम्रो माध्यम बनाउन सकिने कुरामा कम्पनीका अधिकारीहरू विश्वस्त देखिन्छन्।
हाइपरलुपले एक पटकमा २० हजार यात्री बोक्न सक्ने उनीहरूको दाबी छ। त्यतिधेरै यात्रीलाई बस, विमान र रेलभन्दा कम समयमै गन्तव्यमा पुर्याउने कम्पनीको योजना पूरा हुन भने केही समय लाग्नेछ।