काठमाडौं । यतिवेला विश्वनै कोरोना भाइरस संक्रमणको त्रासमा छ । इतिहासमै पहिलो पटक शेयर बजार लामो समय बन्द भएको छ । शेयर कारोबार यतिवेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द भएको छ । वर्षको अन्तिम महिना चैत १० गतेदेखि शेयर कारोबार बन्द भएको छ । सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउन वैशाख ३ गतेसम्म जारी छ । यस आधारमा यो वर्ष १६ कारोबार दिन शेयर कारोबार हुन सकेन ।
विगत तीन वर्षदेखि घटेको नेपालको शेयर बजार यस वर्षभने केहि समय बढेको छ । यस वर्ष नेप्से परिसूचक १ हजार ६३२ विन्दुसम्म कायम भएको थियो । यो विन्दु नेप्सेले फागुन १५ गते कायम गरेको हो । यस दिन शेयर बजारमा १८० कम्पनीको कारोबार भएको थियो । रु. ४ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको थियो ।
शेयर बजारमा बढ्दा र घट्दा विभिन्न कारणहरुलाई औल्याउने गरिन्छ । कहिले अर्थमन्त्रिको चर्चा त कहिले बैंकिङ गतिविधि । मंसिर १० गते नेप्सेले यस वर्ष सबैभन्दा न्यून विन्दु कायम गरेको थियो । यस दिन नेप्से १ हजार १०९ विन्द्मा झरेको थियो । यो दिन १६५ कम्पनीको रु २ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
वर्ष २०७६ को पहिलो कारोबार हुदाँ वैशाख २ गते नेप्से १ हजार १८८ विन्दु कायम भएको थियो । उक्त दिन ३० करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । कारोबार रकमले पनि यस वर्ष ऐतिहासिक रेकर्डनै राखेको छ ।
यस वर्ष शेयर बजारमा ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यो कारोबार वर्षको उच्च विन्दु कायम गरेको दिनभन्दा पछिल्लो कारोबार दिन फागुन १८ गते भएको थियो । यस दिन नेप्से परिसूचक १ हजार ५९१ विन्दुमा थियो । यस वर्षको उच्च विन्दु १ हजार ६३२ दशमलव १७ कायम भएपश्चात बजार घटवढ हुदैं यस वर्षको अन्तिम कारोबार दिन चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा बन्द भएको थियो ।
यस वर्षको अन्तिम कारोबार दिनमा १२३ कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । यो सवलाई हेर्दा यस वर्ष कुनै समय लगानीकर्ताको मनोबल उच्च भएको छ भने कुनै समय निकै न्यून रहेको देखिन्छ ।
यस वर्षको बजेटमा शेयर लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर ७ दशमलव ५ प्रतिशतलाई घटाएर ५ प्रतिशतमा झारिएको छ भने बजारको विकास र विस्तारका लागि ब्रोकरमार्फत मार्जिन कर्जा र वाणिज्य बैंकबाट पनि ब्रोकर सेवा पाउने गरी ब्रोकर लाईसेन्स वितरणको व्यवस्था भएको थियो ।
तर , यी दुबै व्यवस्था लगानीकर्ताको ढोकासम्म आउदाँ पनि भित्र पस्न भने सकेको छैन् । नेप्सेले दुबै व्यवस्था कार्यान्वयनका लागि तयारी गरिरहदा मार्जिन कारोबार नीतिगत व्यवस्था परिमार्जन गर्नुपर्दा अघि बढेको छैन् भने वाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सको विषय सरकारी स्तरमै अध्ययनको क्रममा छ । रामकुमारी झाक्रीको नेतृत्व टोलीले विगत लामो समयदेखि यो लगाएत शेयर बजारका अन्य विषय अध्ययन गरिरहेको छ ।
यो वर्षको कात्तिक २० गते एक वर्ष पुरा गरेको अनलाईन कारोबार प्रणालीले पूर्णता नपाउदाँ पनि लगानीकर्ताहरु अन्योलमा रहेको देखिन्छ । यस प्रणालीमा हालसम्म १ प्रतिशत भन्दा बढी मात्र लगानीकर्ता आवद्ध हुनुले बजार बन्द गनुर््को विकल्प नभएको हो । पूर्ण अनलाईन कारोबार साच्चै पूर्ण भएको भए अहिले घरमै वसेर लगानीकर्ताहरुले कारोबार गरिरहेका हुने थिए होला ।
आम लगानीकर्ताहरुले अझै पनि बजार बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धीत निकायले अनलाईन कारोबार प्रणालीलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । यहि क्षेत्रको लगानीबाट आम्दानी गरि जिविकोपार्जन गर्दै आएका लगानीकर्ताहरु लामो समय बजार बन्द हुदाँ समस्यामा पर्ने भएकाले यसतर्फपनि सम्बन्धीत निकायले ध्यान दिनुपर्ने लगानीकर्ता संघका नेताहरुले माग गर्दै आएका छन् ।