सुनसान बजार। झिसमिसे उज्यालो। लाग्थ्यो बजार ‘ह्याप्पी फ्राइडे’को ह्याङ मै छ जस्तो। फाट्टफुट्ट चिया पसल र कपाल काट्ने ठाउँमात्र खुलेका थिए। अन्य दिनभन्दा शनिबार ढिलै उठ्छ बजार। चिऽऽऽसो मौसममा तातो ओछ्यान छाड्न कसलाई पो रहर हुन्छ र! तर के गर्नु वचन त पूरा गर्नु नै थियो। साइकल टुर गर्ने वचन जो दिएको थिएँ।
सुनसान सडकमा एक्लै साइकल चलाउनुको मज्जा नै बेग्लै हुन्छ। नागबेली शैलीमा कुदाउँदै घोराही चोक पुगें।
अघिल्लो दिन मात्रै फोन गरेर यातायात कार्यालय राप्ती तुलसीपुरका प्रशासन प्रमुख रस्मिराज अधिकारीले साइकल टुरमा जान हौस्याएका थिए। साइकल राइड गरेर ‘हात्ती ढुंगा’ हेर्न जाने भनेर। त्यसैले निद्रालाई माया मारेरै एकाबिहानै घोराही पुगिसकेको थिएँ।
बिहान सात बजे घोराहीबाट हिँड्ने सल्लाह थियो। तर म एक घण्टा ढिलो पुगें। हेर्दा कोही थिएनन्। फोन डायल गरें। साथीहरू ग्वारखोला पुलमा कुरेर बसेका रहेछ। साइकल उतै मोडें।
साइकल राइडरसँग पहिलो पटक सँगै कुददै थिएँ। कुदाउन सक्छु कि सक्दिनँ लागिरहेको थियो।
पुलमाथि मेरो प्रतीक्षामा थिए साथीहरू। राइडर प्राय: सबै व्यापारी थिए। हुँकियौं हात्ती ढुंगातिर।