लकडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि चितवनका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन्।
चितवन। लकडाउनको समयमा विद्यार्थीहरू घरमा नपढेपछि चितवनमा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसईई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११ हजार २५४ विद्यार्थी छन् ।
विद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाइन कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए। एक दिन एउटा विषयको पढाइ हुने गरेको सुवेदीकाे भनाइ छ।
“लकडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन्”, अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत् विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ।
अझै पनि केही विद्यार्थी सो एपभन्दा बाहिर रहेका कारण उनीहरूलाई पनि सम्पर्कमा ल्याउन खोजिएको सुवेदी बताउँछन्।
लकडाउनको समयभर विद्यार्थीलाई शिक्षकले फोनमार्फत् निगरानी गरिरहेको उनको भनाइ छ।
“इन्टरनेटको सुविधा भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गरिएको छ भने अन्य स्थानमा मोबाइलबाट निगरानी गरिएकोछ”, उनले भने।
विद्यार्थी परीक्षाको तयारीबाट बिचलित नहुन् भनेर विद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुवेदीले बताए। लकडाउनको समयमा विद्यार्थीले पढे/नपढेको बुझ्नका लागि अभिभावकसँग पनि नियमित सम्पर्क बढाउन लगाइएको छ। रासस